सस्तो मूल्य र आधुनिक फिचरसहित आयो टाटा ‘एरिस’

काठमाडौं । टाटा मोटर्सले भारतीय बजारमा आफ्नो नयाँ कम्प्याक्ट सेडान कार ‘टाटा एरिस’ सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा एसिरको औपचारिक रुपमा बिक्री सुरू गरेको हो ।

कम्पनीले एरिसको विभिन्न ५ भेरियन्ट उपलब्ध गराएको छ । जसमा पेट्रोल भेरियन्टको सुरूआती मुल्य ५ लाख २९ हजार भारु र सीएनजी भेरियन्टको ६ लाख २९ हजार भारु (एक्स-शोरूम) तोकेको छ । जुन प्रतिस्पर्धी मोडलभन्दा १ लाख भारुसम्म सस्तो हो ।

टाटाले आजैदेखि एरिसको बुकिङ खुलाएको छ । डेलिभरी भने नवरात्रीको पहिलो हप्तादेखि सुरू हुने कम्पनीले जनाएको छ।

एरिसमा १.२ लिटर रेबोट्रोन पेट्रोल इन्जिन दिइएको छ । जसले ८६ हर्ष पावर तथा ११३ न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स अप्सन उपलब्ध छ । सीएनजी लाइनअपमा पनि ट्विन सिलिण्डर प्रविधिसहित म्यानुअल र अटोमेटिक दुवै विकल्प उपलब्ध छन्।

एरिस सेडानको डिजाइन निकै आकर्षक छ । यसको बाहिरी बनावटमा ग्लस ब्ल्याक फ्रन्ट ग्रिल, आकर्षक हेडल्याम्प र फराकिलो बम्पर दिइएको छ । माथिल्लो भेरियन्टहरूमा एलईडी हेडल्याम्प र डीआरएल, जोडिएका एलईडी टेल ल्याम्प र डुअल टोन छत छ ।

यसको इन्टेरियरमा डुअल टोन क्याबिन, १०.२५ इन्चको फ्लोटिङ टचस्क्रीन र डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले छ । भेरियन्ट अनुसार ब्लुटुथ अडियो, स्टेयरिङ माउण्टेड कन्ट्रोल, चारै पावर विन्डो, वायरलेस एन्ड्रोइड अटोरएप्पल कारप्ले,भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट अपहोल्स्ट्री, वायरलेस चार्जिङ, ड्यासबोर्ड क्यामेरा छ ।

एरिसमा सेग्मेन्टकै सबैभन्दा ठूला ४१९ लिटरको बुट स्पेस उपलब्ध छ । एरिसमा सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यसमा भेरियन्ट अनुसार ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, एबीएस विथ ईबीडी, कर्नर स्टेबिलिटी कन्ट्रोल, क्रुज कन्ट्रोल, सेग्मेन्टमै पहिलो ब्लाइन्ड भ्यु मोनिटर, डिजिटल भिडियो रेकर्डर लगायत फिचर छन् ।

टाटाले एरिसलाई पूर्ण रूपमा व्यक्तिगत र पारिवारिक प्रयोगका लागि मात्र ल्याएको छ । यो सेडान फ्लिट (ट्याक्सी÷भाडा) सेग्मेन्टमा प्रवेश नगर्ने टाटाले स्पष्ट पारेको छ ।


Back_to_top