अर्को साता आउँदै बीएमडब्लूको ४५० सीसीको नयाँ नेकेड मोटरसाइकल

काठमाडौं । प्रिमियम अटो ब्राण्ड बीएमडब्लूले आफ्नो नयाँ ४५० सीसी नेकेड मोटरसाइकल अर्को साता सार्वजनिक गर्ने भएको छ ।

बीएमडब्लू मोटार्डले नयाँ ४५० सीसी नेकेड मोटरसाइकलको टिजर सार्वजनिक गर्दै अक्टोबर १ तारिकमा विश्वव्यापी रूपमा नयाँ मोडल डेब्यु गर्ने घोषणा गरेको हो ।

टिजरमा देखाइएको नयाँ मोडल बीएमडब्लू एफ ४५० आरको रूपमा प्रस्तुत गरिने बताइएको छ । यद्यपि कम्पनीले यसको नाम औपचारिक रूपमा पुष्टि गरेको छैन ।

बीएमडब्लूको नयाँ मोडल नेकेड स्ट्रीट फाइटर डिजाइनमा रहेको छ । यो मोटरसाइकल बीएमडब्लू एफ ४५० जीएस एड्भेन्चरको इन्जिन प्लेटफर्ममा आधारित हुनेछ । कम्पनीले यसको बडि डिजाइनलाई फरक पहिचान दिने भएको भारतीय मिडिया रिपोर्टमा उल्लेख छ ।

टिजरमा नयाँ मोटरसाइकललाई निकै मस्कुलर र नेकेड स्पोर्टी डिजाइनमा देखाइएको छ । यसमा ठूलो ट्यांक श्राउड, चिसेल्ड फ्युल ट्यांक, स्पोर्टी एलईडी हेडलाइट र चौडा ह्याण्डलबार रहेको छ ।

मोटरसाइकलमा यूएसडी फ्रन्ट फोर्क, रियर मोनोसक तथा एफ ४५० जीएसमा देखिएको डिजाइनसँग मिल्दोजुल्दो पाँच स्पोक अलोय ह्विल प्रयोग हुन सक्ने अनुमान छ । स्प्लिट सिटमा अगाडिको भाग तुलनात्मक रूपमा होचो र पछाडिको पिलियन भाग केही माथि उठाइएको देखिन्छ । टिजरमा सामान्य स्थानमा ठूलो एग्जस्ट क्यानिस्टर नदेखिएकाले अन्डरबेली एग्जस्ट सिस्टम प्रयोग हुन सक्ने सम्भावना छ ।

मोटरसाइकलमा ४२० सीसीको प्यारलल ट्विन सिलिण्डर इन्जिन हुनेछ । यो इन्जिनले अधिकतम ४८ बीएचपी र ४३ एनएम टर्क उत्पादन गर्छ । जुन एफ ४५० जीएस बराबरकै हो ।

साथै, मोटरसाइकलमा ६.५ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टफोन कनेक्टिभिटी तथा नेभिगेसन, इजी राइड क्लच (ईआरसी) सिस्टम, डुअल च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, विभिन्न राइडिङ मोडहरू, क्रुज कन्ट्रोल लगायतका फिचरहरू हुने अनुमान गरिएको छ ।

यसका अलावा टिजरमा देखाइएको डिजाइनभन्दा उत्पादन संस्करणमा केही फरक हुन सक्ने संकेत समेत कम्पनीले दिएको छ । नयाँ मोडलको आधिकारिक नाम, मूल्य र विस्तृत स्पेसिफिकेसन सम्पूर्ण जानकारी ग्लोबल डेब्यूपछि मात्रै स्पष्ट हुनेछ ।


Back_to_top