काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादक हुन्डाईले चाँडै भारतीय बजारमा चार नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । बढ्दो प्रतिस्पर्धी अटोबजारमा आफ्नो उपस्थिति बलियो बनाउन हुन्डाईले धमाधम नयाँ मोडल ल्याउने तयारी गरेको हो ।
हुन्डाईले केही महिना भित्रै ल्याउने चार नयाँ मोडल मध्ये दुई वटा पूरै नयाँ र दुई वटा अपडेटेड मोडल रहेका छन् । जसमा ३ वटा आइस र एउटा विद्युतीय रहेका छन् ।
हुन्डाईले चाँडै बायोन, पूर्ण रूपमा नयाँ क्रेटा, नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी र नयाँ पुस्ताको आई१० बजारमा ल्याउने भएको हो ।
यीमध्ये बायोनको अक्टोबरमा लन्च हुँदैछ भने बाँकी तीन वटा मोडल आगामी वर्षभित्रै बजारमा आउने अपेक्षा छ ।
हुन्डाईका यी चार वटै नयाँ मोडल नेपाल आउने निश्चित जस्तै छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल हुन्डाईको क्रेटा र आइ १० हाल बिक्री गर्दै आएको छ । त्यसैले कम्पनीले नयाँ पुस्ता भारतमा लन्च हुने बित्तिकै नेपाल ल्याउने छ ।
त्यस्तै, क्रेटा र भेन्युको बीचमा आउने बायोन नयाँ विकल्पको रुपमा आउने देखिन्छ । कम्पनीले क्रेटाभन्दा सस्तो मूल्यका इलेक्ट्रीक खोज्नेलाई मध्येनजर गर्दै नयाँ विद्युतीय एसयूभी पनि ल्याउने सम्भावना देखिन्छ ।
१. हुन्डाई बायोन
हुन्डाईको पूरै नयाँ मिडसाइज एसयूभी बायोन अर्को महिना (अक्टोबर)मा लन्च हुनेछ । कम्पनीले विश्व बजारमा अक्टोबर १२ मा सार्वजनिक गर्नेछ । भारतमा लन्च मिति घोषणा नगरे पनि बुकिङ खुलाइसकेको छ । यसको डेलिभरी सम्भवतः अक्टोभर भित्रै सुरु हुने अपेक्षा गरिएको छ।

बायोन एसयूभी हुन्डाईको ‘ग्लोबल के इनहान्स्ड प्लेटफर्म’मा आधारित छ । पेट्रोल इन्जिनसँग म्यानुअल तथा आईभीटी गियरबक्सको विकल्पमा उपलब्ध हुनेछ।
हुन्डाईले बायोनमा इन-बिल्ट जेनेरेटिभ एआई भ्वाइस असिस्टेन्टलाई प्रमुख प्रविधिगत विशेषताका रूपमा समावेश गर्ने पनि पुष्टि गरेको छ। यस एसयूभीमा हुन्डाईको पछिल्लो ‘आर्ट अफ स्टिल’ डिजाइन भाषा प्रयोग गरिएको छ, जसमा स्पष्ट एसयूभी स्वरूप र छुट्टै पहिचान दिने प्रकाश संयोजनहरू रहेका छन्।
यो क्रेटाभन्दा तलको श्रेणीमा रहने र करिब ४.२ मिटर लम्बाइका एसयूभीको बजारमा हुन्डाईको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
२. नयाँ पुस्ताको हुन्डाई क्रेटा
हुन्डाईको लोकप्रिय एसयूभी क्रेटा पनि अब व्यापक अपडेटेड भएर आउने भएको छ । कम्पनीले चाँडै नयाँ पुस्ताको क्रेटा ल्याउने आधिकारिक रूपमा पुष्टि गरिसकेको छ। यो एसयूभी सन् २०२७ सम्ममा बजारमा आउने अपेक्षा गरिएको छ।
नयाँ पुस्ताको क्रेटा अहिले विभिन्न सडकमा परीक्षण भइरहेको तस्बिरहरू बाहिरिएको छ । सार्वजनिक भएका तस्बिर तथा परीक्षण गाडीका आधारमा नयाँ क्रेटाको डिजाइन हालको मोडलभन्दा ठूलो र बढी ठाडो स्वरूपको हुने संकेत देखिएको छ।
नयाँ पुस्ताको क्रेटा हुन्डाई–कियाको नयाँ के३ प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ । यही प्लेटफर्म नयाँ पुस्ताको सेल्टोसमा पनि प्रयोग गरिएको छ।
नयाँ प्लेटफर्मका कारण क्रेटाको आकार, क्याबिन स्पेस, प्रविधि तथा सुरक्षा सुविधामा उल्लेख्य परिवर्तन हुन सक्नेछ। यसमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट प्रणालीका साथै थप विकसित एडास प्रणाली उपलब्ध हुने अपेक्षा गरिएको छ।
३. नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी
हुन्डाईले स्थानीय रूपमा उत्पादन गर्ने नयाँ कम्प्याक्ट विद्युतीय एसयूभीको तयारी पनि गरिरहेको छ । यो मोडल सन् २०२६ को अन्त्यतिर सार्वजनिक हुने अपेक्षा गरिएको छ । हुन्डाईको विद्युतीय गाडीको सूचीमा क्रेटा इलेक्ट्रीकभन्दा तल रहनेछ।
आगामी विद्युतीय एसयूभीमा समर्पित तथा स्थानीयकरण गरिएको विद्युतीय संरचना प्रयोग हुने अपेक्षा गरिएको छ। यसले टाटा नेक्सन ईभीलगायत अन्य कम्प्याक्ट विद्युतीय एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

विभिन्न रिपोर्टअनुसार यसमा स्थानीय रूपमा स्रोत जुटाइने एक्साइड ब्याट्री प्रयोग हुन सक्नेछ। हुन्डाईले आफ्नो विद्युतीय गाडीको उत्पादनमा स्थानीय सामग्रीको प्रयोग बढाउँदै लगिरहेको छ।
४. नयाँ पुस्ताको हुन्डाई आई १०
हुन्डाईले आफ्नो चर्चित ह्याचब्याक आइ १० पनि अपग्रेड गर्ने भएको छ । कम्पनीले आइ १० लाई नयाँ पुस्ताको रुपमा बजारमा ल्याउन लागेको हो । यसले हाल बजारमा रहेको ग्रान्ड आई १० नियोसलाई प्रतिस्थापन गर्नेछ। यो केवल फेसलिफ्ट नभई पूर्ण रूपमा नयाँ डिजाइनसहित आउने अपेक्षा गरिएको छ।
हालसम्म यो मोडलका बारेमा विस्तृत जानकारी बाहिरिएको छैन् । तर नयाँ आई१० मा पूर्ण रूपमा नयाँ बाह्य डिजाइन र क्याबिनका साथै थप कनेक्टेड प्रविधि तथा सुरक्षा सुविधाहरू समावेश हुने अपेक्षा गरिएको छ। नयाँ पुस्ताको आइ १०मा हुन्डाईले हाल प्रयोग भइरहेको १.२ लिटर पेट्रोल तथा सीएनजी पावरट्रेनलाई निरन्तरता दिने सम्भावना छ । यद्यपि, हुन्डाईले अन्तिम प्राविधिक विवरण भने पुष्टि गरेको छैन ।

