काठमाडौं । अमेरिका विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीतीव्राट पछाडि हट्ने संकेत देखिएको छ । ट्रम्प प्रशासनले इन्धन दक्षता र प्रदूषण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै पेट्रोल तथा डिजेल सवारी साधनको प्रयोगलाई बढवा दिन थालेको हो ।
चीन र युरोप विद्युतीकरणको यात्रामा थप आक्रमक बनिरहँदा अमेरिका भने उल्टो दिशामा हिँड्न थालेको टिप्पणी भइरहेका छन् । प्रदूषणको मामलामा निकै अनुदार देखिएका ट्रम्पले इन्जिन भएका गाडीको प्रयोगलाई प्राथमिकतामा राखेर प्रदूषण मापदण्ड खुकुलो बनाका हुन् ।
ट्रम्प प्रशासनले पूर्वराष्ट्रपति बाइडेनको कार्यकालमा भएको ‘कर्पोरेट एभरेज फ्युल इकोनोमी’ (क्याफे) मापदण्ड संशोधन गर्दै सन् २०३१ सम्मको औसत इन्धन दक्षता लक्ष्य ५० माइल प्रतिग्यालनबाट घटाएर ३४.५ माइल प्रतिग्यालनमा झारेको हो ।
ट्रम्प दोस्रो पटक सत्तामा आएसँगै ईभीमा दिँदै आएको कर छुट तथा स्वच्छ सवारीसाधन उत्पादन सम्बन्धी केही प्रोत्साहन समेत हटाएका थिए ।
अमेरिकाको यस्तो नीतिगत परिवर्तनले तत्काल ठूलो असर नपारे पनि अमेरिकी अटो उद्योगको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमताबारे प्रश्न उठेको छ । अमेरिकी बजारमा अगस्टमा ईभीको हिस्सा ५.७ प्रतिशत मात्रै रहेको तथ्यांकले पनि विद्युतीकरणको गति चीन र युरोपको तुलनामा कमजोर रहेको देखाउँछ ।
यसको विपरीत चीनमा न्यू इनर्जी भेहिकलको हिस्सा करिब ६० प्रतिशत पुगिसकेको छ । युरोपमा पनि ईभी बिक्री तीव्र रूपमा बढिरहेको छ । चिनियाँ अटो निर्माताहरू न्यू इनर्जी भेहिकलकै सहायतामा विश्व बजारमा तीव्र गतिमा विस्तार भइरहेका छन् ।
चिनियाँ ईभीले युरोपेली तथा अन्य विश्व बजारमा प्रतिस्पर्धा बढाइरहेका बेला अमेरिकी कम्पनी भने ठूलो इन्जिन भएका पेट्रोल सवारीसाधनमा पुनः केन्द्रित हुन थालेका छन् ।

