पहिलो पटक सडकमा देखियो महिन्द्राको थार इलेक्ट्रीक

काठमाडौं । महिन्द्राको बहुप्रतीक्षित थार इलेक्ट्रीक एसयूभी परीक्षणको क्रममा सडकमा देखिएको छ । अत्यधिक क्यामोफ्लाज गरिएको थार ईभी परीक्षणका क्रममा भारतीय सडकमा देखिएको हो ।

सार्वजनिक स्पाइ तस्बिर अनुसार यो गाडी सन् २०२५ अगस्टमा सार्वजनिक गरिएको भिजन टी अवधारणासँग निकै नजिक देखिन्छ। भिजन टीले सन् २०२३ मा सार्वजनिक गरिएको थार डट ईमा देखाइएको डिजाइनलाई थप विकसित गरेको थियो।

परीक्षण गाडीको अगाडिको भागमा भिजन टीको स्पष्ट प्रभाव देखिन्छ । चौडा ग्रिलमा दुई तहमा ठाडो रूपमा राखिएका डिजाइन तत्त्व छन् भने दुवै छेउमा वर्गाकार हेडलाम्प हाउजिङ देखिन्छ। हेडलाम्पमा एलईडी प्रविधि प्रयोग भएको अनुमान गरिएको छ।

समतल क्ल्यामशेल शैलीको बोनट, ठाडो विन्डस्क्रीन र ठूलो अगाडिको बम्परले गाडीलाई बाकसाकार र बलियो स्वरूप दिएको छ। बाहिरी ओरआभीएमको डिजाइन पनि हालको थारसँग मिल्दोजुल्दो छ । ठूलो ह्वील आर्चले यसको फराकिलो र अफरोड केन्द्रित डिजाइनलाई थप बलियो बनाएको छ।

साइड प्रोफाइलमा ५ ढोका, समतल छाना र ठाडा पिलर देखिन्छन्। ढोकामुनि समतल साइड स्टेप राखिएको छ, जुन मूल थार डट ईमा देखाइएको खुला संरचनाको स्टेपभन्दा बढी परम्परागत देखिन्छ । यसमा ठूला पाँग्रा प्रयोग गरिएको छ। तस्बिरका आधारमा ती करिब १९ वा २० इन्चका हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यसको वास्तविक आकार भने पुष्टि भएको छैन।

पछाडिको भागमा ठाडो डिजाइनको ठूलो टेलगेट र ठूलो रियर विन्डो देखिन्छ। विशेष रूपमा, थार डट ई र भिजन टी दुवैमा देखाइएको बाहिरै राखिएको स्पेयर ह्वील परीक्षण गाडीमा देखिँदैन। उत्पादन संस्करणमा भने थार रक्समा जस्तै टेलगेटमै स्पेयर ह्वील राखिन सक्ने सम्भावना छ। पछाडिका साना बत्तीहरू भने परीक्षण प्रयोजनका लागि राखिएका अस्थायी युनिट हुन सक्ने देखिन्छन्।

यसमा स्वतन्त्र पछाडिको सस्पेन्सन प्रयोग हुन सक्ने संकेत गरेको छ। यदि उत्पादन मोडलमा पनि यही संरचना कायम रह्यो भने यो हालको थार परिवारमा प्रयोग हुँदै आएको पछाडिको एक्सल संरचनाभन्दा महत्वपूर्ण परिवर्तन हुनेछ।

स्पाइ तस्बिर अनुसार यसको क्याबिनमा डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले र ए पिलर नजिक मजबुत ग्रयाब ह्याण्डलहरू देखाउँछ। ड्यासबोर्डको धेरैजसो भाग लुकाइएको भए पनि अवधारणा मोडलहरूले यसको सम्भावित बनावटबारे संकेत दिन्छन्। हालै सार्वजनिक गरिएको स्कोर्पियो लाइफस्टाइलरमा पनि ठूलो पोट्र्रेट इन्फोटेनमेन्ट स्क्रीन प्रयोग गरिएको छ, जुन स्कोर्पियो एनको फेसलिफ्टमा पनि उपलब्ध हुनेछ। त्यसैले थार ईभीमा पनि यही इन्फोटेनमेन्ट प्रणाली सेयर हुनसक्ने प्रबल सम्भावना छ।

थारर ईभी महिन्द्राको एनयू–आईक्यू प्लेटफर्म फ्यामिलीसँग सम्बन्धित छन् । कम्पनीले यो प्लेटफर्ममा बनेका गाडी सन् २०२७ देखि बजारमा ल्याउने योजना बनाएको छ । तर थार इलेक्ट्रीकको आधिकारिक बिक्री मिति भने अझै घोषणा गरिएको छैन । हालै सडक सुरू भएकाले थार इलेक्ट्रीक सन् २०२८ वा त्यसपछि बजारमा आउने सम्भावना देखिन्छ। महिन्द्राले भिजन टी र भिजन एसएक्सटी दुवैको डिजाइन पेटेन्टसमेत दर्ता गरिसकेको छ।


Back_to_top