ब्याट्री बजारमा चिनियाँ कम्पनीको दबदबा कायमै, कसले कति बेचे ?

काठमाडौं । विद्युतीय सवारीसाधनमा प्रयोग हुने हाइभोल्टेज ब्याट्री उत्पादनमा चिनियाँ कम्पनीहरुको दबदबा देखिन्छ । खासगरी दुई चिनियाँ जाइन्ट सीएटीएल र बीवाइडीको कारण चिनियाँ उत्पादकको बजार हिस्सा धेरै भएको हो ।

सन् २०२६ को पहिलो ८ महिनाको तथ्यांक अनुसार नै सीएटीएल र बीवाइडीले मिलेर झण्डै ५४.५ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

दक्षिण कोरियाली बजार अनुसन्धान संस्था एसएनई रिसर्चका अनुसार जनवरीदेखि अगस्टसम्म विश्वभर ईभीमा ८४४.२ गिगावाट आवर (जीडब्ल्युएच) ब्याट्री प्रयोग भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.७ प्रतिशतले बढी हो । अगस्टमा मात्रै ११६.८ गिगावाट आवर ब्याट्री जडान भएको छ । जुन वार्षिक आधारमा १४.३ प्रतिशतको वृद्धि हो ।

सीएटीएलले ३३३ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गर्दै पहिलो स्थान कायम राखेको छ । उसको बजार हिस्सा ३९.४ प्रतिशत छ । जुन अघिल्लो वर्षको ३७.७ प्रतिशतभन्दा बढी हो ।

दोस्रो स्थानमा रहेको बीवाइडीले १२७.९ गिगावाट आवर ब्याट्री उत्पादन गरेको छ । उसको यसको बजार हिस्सा १५.१ प्रतिशत छ । यी दुई कम्पनीको संयुक्त बजार हिस्सा ५४.५ प्रतिशत पुगेको छ ।

दक्षिण कोरियाको कम्पनी एलजी इनर्जी शोलुसनले ६८.३ गिगावाट आवर ब्याट्री उत्पादन र बिक्री गर्दै तेस्रो स्थानमा छ । चीनका सीएएलबी र गोसन क्रमशः ४४.४ र ४१.५ गिगावाट आवर ब्याट्री बनाउँदै चौथो र पाँचौँ स्थानमा छन् ।

शीर्ष १० कम्पनीमध्ये सातवटा चिनियाँ कम्पनी छन् । सबै चिनियाँ उत्पादकको बजार हिस्सा मिलाउँदा ७३.३ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्ष ६९.७ प्रतिशत मात्रै थियो ।

क्षेत्रगत रूपमा युरोपमा ब्याट्री प्रयोग २९.२ प्रतिशत, चीनमा १६.९ प्रतिशत र चीनबाहेक एसियामा ७६ प्रतिशतले बढेको छ । दक्षिण अमेरिकामा १७९.९ प्रतिशत वृद्धि हुँदा उत्तर अमेरिकामा भने २३.७ प्रतिशत गिरावट आएको छ ।


Back_to_top