कालिगण्डकी करिडोर खुल्न अझै हप्तादिन लाग्ने

काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध कालिगण्डकी करिडोर संचालनमा आउन अझै कम्तीमा एक साता लाग्ने भएको छ ।

धेरै ठाउँको पहिरो हटाइए पनि ‘वासआउट’ भएको स्थानमा नयाँ ट्रयाक/पर्खाल निर्माण गर्नुपर्ने भएकाले सडक संचालन आउन कम्तीमा एक साता लाग्ने देखिएको हो ।

कालिगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडक योजना प्रमुख तेजस्वी शर्माले अहिले दैनिक १५ वटासम्म उपकरण प्रयोग गरी बाटो खुलाउने काम भइरहेको बताए ।

उनका अनुसार बाढिपहिरोको कारण मालढुंगा-कोरला खण्डको ५५ स्थानमा सडक अवरुद्ध भएको थियो । मालढुंगादेखि-बेनी र घासा-कोरलाखण्ड २/ दिनमै संचालनमा ल्याइए पनि म्याग्दी खण्डको करिब १८ किमी खण्ड अवरुद्ध रहेको उनले बताए । यो खण्डमा बाटो नखुलाई पूरै करिडोर संचालनमा आउन नसक्ने उनको भनाइ छ ।

म्याग्दीको विभिन्न ८ स्थानमा १०० देखि २५० मिटर सडक वास आउट भएकाले संचालनमा ल्याउन ढिलाइ भएको उनले बताए । ती ठाउँमा भित्तो कटान, नयाँ ट्रयाक र ग्याबिन वाल निर्माण भइरहेको उनले बताए ।

‘बाढिपहिरोले मालढुंगा–बेनी–जोमसोम–कोरला खण्डको ५५ ठाउँमा अवरुद्ध भएको थियो । मालढुंगादेखि–बेनी र घासा–कोरलाखण्ड २÷३ दिनमै संचालनमा ल्याएका थियौं,’ उनले मेरोअटोसँग भने, ‘अब म्याग्दीको तल्लो वैतडीदेखि पोखरेबगरसम्म संचालनमा आउन बाँकी छ । अहिले धमाधम काम भइरहेको छ । शनिबारसम्म संचालनमा ल्याउने लक्ष्य छ ।’

पोखरेबगर र भुरुङ जोड्ने पुलको एप्रोच निर्माण तीव्र गतिमा भइरहेको उनले बताए । हालसम्म ३ मिटर ग्ग्याबिन वाल निर्माण गरिसकिएको उनले बताए । सडक बनाइसक्दा पुलको एप्रोच पनि निर्माण सम्पन्न भइसक्ने उनको भनाइ छ ।

एकसातादेखि कालिगण्डकी करिडोर अवरुद्ध हुँदा दशैंका लागि ल्याएको सामाना बीच बाटोमै अड्किएका छन् । भन्सार जाँचपास भइसकेका विद्युतीय सवारी, लत्ताकपडा, फलफूल लगायत सामान मुस्ताङमै रोकिएका हुन् ।

रसुवागढी र तातोपानी नाका बन्द भएपछि व्यवसायीले विकल्पमा धमाधम कोरलाबाट सामान आयात गरिरहेका थिए । तर, गत साता आएको बाढिपहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएपछि व्यवसायी मर्कामा परेका हुन् ।

एकातर्फ सामान नहुँदा सिजनमै व्यापार गर्न पाएका छैनन् । ग्राहकलाई रित्तो हात फर्काउनु पर्ने वा कुराउनु पर्ने बाध्यता छ । अर्कोतर्फ सामान बाटोमै होल्ड हुँदा लागत बढिरहेको छ ।


Back_to_top