काठमाडौं । बीवाइडीको दोस्रो पुस्ताको सिगल (नेपालमा एटो १)को चीनमा प्रि-अर्डर खुला भएको छ । बीवाइडीको ओसियन लाइनअप बिक्री विभागका महाप्रबन्धक झाङ झोउले शुक्रबार वेइबो मार्फत नयाँ सिगलको प्रि अर्डर खुलाइएको जानकारी दिएका हुन् ।
यद्यपि, मूल्य भने तोकिएको छैन । नयाँ सिगल विभिन्न ६ वटा कलर अप्सन पनि सार्वजनिक गरिएको छ । कम्पनीले नयाँ सिगलको आधिकारिक लन्च मिति घोषणा गरेको छैन । तर, यही वर्षको अन्त्यसम्म बिक्री सुरू गर्ने सम्भावना छ ।
दोस्रो पुस्ताको एटो वान व्यापक परिवर्तन भएर आउँदैछ । ठूलो साइज, ठूलो मोटर पावर, रियर ह्वील ड्राइभ सिस्टम, लाइडार, प्रिमियम क्याबिन फिचरसहित आउने भएको हो ।
नयाँ एटो वानमा पुरानो ५५ किलोवाटको मोटरको सट्टा शक्तिशाली ९५ किलोवाटको ‘टीजेड १६४एक्सवाईबी’ मोटर प्रयोग गरिएको छ । यसले गर्दा गाडीको अधिकतम स्पीड १५० किमी प्रतिघण्टा पुगेको छ।
नयाँ सिगलमा फिनड्रिम्सले बनाएको ३० किलोवाट आवर र ३९.२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक प्रयोग हुनेछ । यी ब्याट्रीले एकपटकको फुलचार्जमा क्रमशः ३२० किमीदेखि ४२० किमीसम्म सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

नयाँ सिगल पहिलोपटक रियर ह्वील ड्राइभट्रेनमा आउँदैछ । यसमा स्वतन्त्र मल्टी–लिंक सस्पेन्सन प्रयोग गरिएको छ । साथै, पहिलेको १६५र१७५ मिमी टायरको सट्टा नयाँ १६ इन्चको एलोय ह्वीलमा फराकिलो २०५र६० आर १६ टायर प्रयोग गरिएको छ।
बाहिरी भागमा पनि नयाँ डिजाइनका ढोका ह्याण्डल प्रयोग गरिएको छ। पछाडि ठूलो रूफ स्पोइलरको तल स्प्लिट टेललाइट र तल्लो भागमा एकीकृत डिफ्युजर राखिएको छ । दोस्रो पुस्ताको सिगलको लम्बाइ ४२०५ एमएम, चौडाइ १८१० एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । यसको लम्बाइ हालकोभन्दा ४२५ एमएम र ह्वीलबेस १५० एमएम धेरै हो ।
यसको क्याबिन पनि प्रियिमम र आकर्षक छ । सार्वजनिक विवरण अनुसार दोस्रो पुस्ताको एटो वानमा चालकका लागि मसाज सिट उपलब्ध हुनेछ । साथै, अगाडिका सिटहरू विद्युतीय रूपमा समायोजन गर्न सकिने सुविधा छ। नयाँ एटो वानको अर्को मुख्य आकर्षण बहुरङ्गी एम्बियेन्ट लाइटिङ हो । यसको ड्यासबोर्ड पनि निकै आकर्षक बनाइएको छ ।
नयाँ सीगल ह्याचब्याकको क्याबिनमा ३र७ स्प्लिट डिजाइन भएको ठूलो फ्लोटिङ मोनिटर राखिएको छ। यसको बायाँ भागले इन्स्ट्रुमेन्ट प्यानलको रूपमा काम गर्छ । जसमा कारको गति, गियर, रेन्ज, ऊर्जा खपत, ड्राइभिङ मोडहरू आदि बारे जानकारी देखाउँछ। डिस्प्लेको दायाँ भाग भने नेभिगेसन र सङ्गीत जस्ता अन्य इन्फोटेनमेन्ट कार्यहरूका लागि छुट्याइएको छ।
यसको अगाडि बोनेटमुनि ९४ लिटरको अतिरिक्त फ्रंक उपलब्ध छ। पछाडिका सिटहरू फोल्ड गर्दा कारको डिक्कीमा अधिकतम १,३८० लिटरसम्म सामान राख्न सकिन्छ।
नयाँ मोडलमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री र फ्ल्याश चार्जिङ प्रविधि हुनसक्ने अनुमान गरिए पनि कम्पनीले चार्जिङबारे आधिकारिक पुष्टि गर्न बाँकी छ।
नयाँ सिगलका केही प्रोटोटाइपमा छतमा लिडार जडान गरिएको देखिएको छ । यो प्रणाली बीवाईडीको डाइपाइलट ३०० (गड्स आई बी) लेभल २ ड्राइभिङ एसिस्टेन्स प्रणालीसँग सम्बन्धित छ। यसले नयाँ सिगलको उच्च भेरियन्टमा थप उन्नत चालक सहायता प्रविधि उपलब्ध हुन सक्ने संकेत गरेको छ। यद्यपि, बीवाइडीले सबै भेरियन्टमा उपलब्ध हुने प्रविधि र यसको विस्तृत स्पेसिफिकेसनबारे पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन।

