होण्डाले विकास गर्यो ईभी गुडिरहेकै अवस्थामा वायरलेस चार्ज हुने प्रविधि

काठमाडौं । विद्युतीय सवारी साधनमा विश्वभर नयाँ खोज, अनुसन्धान र प्रविधि विकास तीव्र रूपमा भइरहेको छ । यसैक्रममा जापानी अटोमोबाइल कम्पनी होण्डाले विद्युतीय कार सडकमा गुडिरहेकै बेलामा वायरलेस चार्ज हुने प्रविधि विकास गरेको छ ।

होण्डाको अनुसन्धान शाखा होण्डा आर एण्ड डी, निर्माण क्षेत्रको कम्पनी ताइसेई कर्पोरेसन र ताइसेई रोटेकले संयुक्त रूपमा गुडिरहेको अवस्थामा गाडी वायरलेस चार्ज गर्न सकिने सडक प्रविधि (डब्लूपीटी रोड सिस्टम)को विकास गरेका हुन् ।

होण्डाका अनुसार यो प्रविधिबाट सडकमा गुडिरहेका ईभीलाई रोकिराखेर चार्जिङ स्टेसनमा जोडिरहनुपर्ने आवश्यकता कम गर्न सकिनेछ । जसले सवारीधनीलाई बारम्बार घर वा चार्जिङ स्टेसनमा गाडी रोकेर चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त गराउँछ ।

जापानी आर्थिक वर्ष २०२७ (१ अप्रिल २०२७) देखि यस प्रविधिको सार्वजनिक सडकमा प्रत्यक्ष परीक्षण सुरू गर्ने योजना बनाइएको छ । यो डाइनामिक वायरलेस पावर ट्रान्सफर प्रविधि म्याग्नेटिक कपलिङमा आधारित छ।

यो सिस्टममा सडकभित्र विशेष ग्राउण्ड एसेम्बली (जीए) युनिट जडान गरिन्छ । यी युनिटले सडकमा गुडिरहेको सवारीसाधनमा वायरलेस रूपमा विद्युत् पठाउँछन् । सवारीसाधनमा जडान गरिएको भेहिकल एसेम्बली (भीए) युनिटले सडकबाट आएको विद्युत् ग्रहण गर्छ ।

ज्ञ। यो प्रणालीलाई मुख्य ३ भागमा विभाजन गरिएको छ । पहिलो, जमिनमा रहने डीसी पावर सप्लाई सिस्टम हो । जसले सडकमा आवश्यक पर्ने उच्च क्षमताको बिजुली प्रवाह गर्छ।

दोस्रो, सडकभित्र जडान गरिने डीसी वितरणमा आधारित जीए सिस्टम हो। जसमा धेरैवटा पावर ट्रान्समिटर युनिटलाई डीसी कनेक्सनमार्फत जोडिन्छ। तेस्रो, सवारीसाधनमा जडान गरिने भीए युनिट हो । जसले वायरलेस रूपमा विद्युत् प्राप्त गर्छ।

यो सिस्टम विकास गर्न तीन कम्पनीले आफ्ना फरक-फरक प्रविधि एकीकृत गरेका छन् । जसमा होण्डा आर एण्ड डीले उच्च पावर घनत्व भएको पावर रिसिभर/ट्रान्समिटर युनिट, डीसी पावर वितरणमा आधारित जीए सिस्टम र सवारीसाधनमा जडान हुने प्रणाली विकास गरेको छ।

त्यस्तै, ताइसेइ कर्पोरेसनलेले उच्च प्रतिक्रियाशीलता भएको डीसी पावर सप्लाई सिस्टम विकास गरेको छ भने ताइसेइ रोटेकले सडकभित्र उपकरण जडान गर्ने निर्माण प्रविधिमा काम गरेको छ।

होन्डा र साझेदार कम्पनीहरूले यो प्रविधिलाई केवल निजी कारका लागि मात्र नभई ठूला व्यावसायिक ईभीमा समेत प्रयोग गर्न सकिने गरी विकास गरिरहेका छन् । २० टनसम्म भारवहन क्षमता भएका ठूला सवारी सफलपूर्वक चार्ज हुनेछन् ।

यो प्रविधि नयाँ सडक निर्माण नगरी पहिल्यै निर्माण भइसकेका सडकमा समेत डब्लूपीटी प्रणाली जडान गर्न सकिने बताइउको छ । यसका लागि जीए युनिटलाई सडकको सतह मिलिङ गरेर त्यसमा उपकरण जडान गर्न सकिने संरचनामा विकास गरिएको छ। मिलिङ गरिएको सडकमा सतह असमान हुन सक्ने समस्यालाई सम्बोधन गर्ने उपायसमेत विकास गरिएको कम्पनीले जनाएको छ।

होन्डाले वातावरणीय प्रभाव घटाउँदै मानिसलाई भविष्यमा अझ सहज र स्वतन्त्र रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यअनुसार यो प्रविधि विकास गरिरहेको जनाएको छ। कम्पनीले सन् २०५० सम्म कार्बन न्यूट्रालिटी हासिल गर्ने लक्ष्य राख्दै ईभीको प्रयोग बढाउन आवश्यक चार्जिङ पूर्वाधार र नयाँ प्रविधिमा काम गरिरहेको हो ।


Back_to_top