पल्सर एनएस २०० मा ठूलाे परिवर्तन हुँदै, यी आधुनिक फिचर थपिने

काठमाडौं । बजाजको पल्सर सिरिज अन्तर्गतको एनएस २०० को अपग्रेड भर्सन आउने भएको छ । कम्पनीले भारतीय बजारमा फिचरहरू अपडेट गरेर नयाँ पल्सर एनएस २०० लन्च गर्ने तयारी थालेको हो ।

बजाजले आफ्नो लोकप्रिय मोडल पल्सर एनएस २०० लाई नयाँ फिचर र आधुनिक प्रविधिसहित अपडेट गर्ने तयारी गरेको भारतीय मिडिया रिपोर्टमा आएको हो । रिपोर्टअनुसार हाल भारतीय बजारमा बजाजका विभिन्न डिलरहरूले अपडेटेड एनएस २०० का लागि बुकिङ समेत खुला गरिसकेका छन् । यद्यपि, कम्पनीले भने आधिकारिक रुपमा बुकिङ खुलाएको घोषणा गरेको छैन ।

बजाजको शोरुममा देखिएको नयाँ भर्सन एनएस २०० मोटरसाइकलमा नयाँ टीएफटी डिस्प्ले र अपग्रेड गरिएको सस्पेन्सन देखिएको थियो । अब डिलरमार्फत सार्वजनिक भएको पोस्टरले यसमा थप अत्याधुनिक फिचर समावेश हुने संकेत गरेको बताइएको छ ।

डिलरले सार्वजनिक गरेको पोस्टरमा एनएस २०० नयाँ नार्डो ग्रे कलरमा देखिएको छ । नयाँ भर्सनमा क्विकसिफ्टर, इलेक्ट्रोनिक थ्रोटल, ट्रयाक्सन कन्ट्रोल र चारवटा राइड मोड उपलब्ध हुनेछन् । मोटरसाइकलको पावर २५.५ पीएस हुने उल्लेख गरिएको छ भने इन्जिनका बारेमा अन्य रिपोर्ट सार्वजनिक गरिएको छैन ।

अपडेटेड पल्सर एनएसको प्रमुख आकर्षण क्विकसिफ्टर हुने देखिएको छ । बजाजले यसअघि ठूलो इन्जिन क्षमताको एनएस ४०० जेडमा उपलब्ध गराएको यो फिचर अब २०० सीसी सेग्मेन्टमा पनि ल्याउने तयारी गरेको हो । क्विकसिफ्टरको सहायताले क्लच प्रयोग नगरी गियर परिवर्तन गर्न सकिन्छ ।

नयाँ पल्सर एनएसमा ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर दिइनेछ । यसमा गुगल म्याप्स मिररिङ सुविधा उपलब्ध हुने डिलर पोस्टरमा उल्लेख छ । नयाँ डिस्प्लेसँगै अपडेटेड स्विचगियर पनि दिइनेछ, जसबाट राइडरले विभिन्न फङ्सन नियन्त्रण गर्न सक्नेछन् ।

बजाजले आफ्नो पल्सर सिरिजका अन्य मोडलमा पनि नयाँ टीएफटी डिस्प्ले विस्तार गर्दै आएको छ । नयाँ एनएस २०० मा पनि उही प्रविधि अपडेट गरिएको छ ।

नयाँ मोडलमा चार्जिङ पोर्ट, हाजार्ड स्विच र प्यानिक ब्रेक अलर्टजस्ता फिचर पनि उपलब्ध हुने बताइएको छ । यसमा एडजस्ट गर्न मिल्ने लिभरसमेत रहने उल्लेख छ ।

मेकानिकल तथा हार्डवेयरतर्फ ३७ एमएमको अपसाइड डाउन फ्रन्ट फोर्क दिइने उल्लेख छ । यसअघि सार्वजनिक भएका स्पाइ तस्बिरमा फोर्कमा डब्लूपी एपेक्स ब्राण्डिङ देखिएको थियो ।

मोटरसाइकलमा रेडियल टायर पनि उपलब्ध हुने डिलर पोस्टरले जनाएको छ । नयाँ सस्पेन्सन सेटअप र टायरले यसको ह्याण्डलिङ तथा सडकमा स्थिरता सुधार गर्न सहयोग गर्न सक्ने अपेक्षा गरिएको छ ।

डिजाइनतर्फ नयाँ एनएसमा ग्रे बडी प्यानल, कालो एक्सेन्ट, रातो ग्राफिक्स र रातो अलोय ह्वील दिइएको छ । मस्कुलर फ्युल ट्याङ्क, स्प्लिट सिट, ग्रफिक्स र कम्प्याक्ट एक्जस्टजस्ता परिचित डिजाइन भने यथावत् देखिन्छन् ।


Back_to_top