काठमडाौं । सरकारले पूर्व-पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणको काम अघि बढाएको छ । सडक विभागले पहिलो चरणमा १५० किलोमिटर लामो हिमाली राजमार्गको सम्भाव्यता अध्ययन अघि बढाएको हो ।
पहिलो चरणमा अपिनाम्पा-सैपाल-बडीमालिका (१०५ किमी) र नुम-पाथीभरा (४५ किमी) सडक खण्डको सम्भाव्यता अध्ययनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको अध्ययन गरी आधार तयार गर्नेछ ।
सोही अध्ययन प्रतिवेदनका आधारमा बडीमालिका, पाथीभरा लगायतका पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइने उनले बताए ।
‘हाम्रा हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नवीन कार्यक्रमको रूपमा अघि बढाएका छौँ,’ मन्त्री लम्सालले भने ।

