काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ४ वर्ष यताकै महँगो भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान माथि थप आक्रमण गर्ने घोषणा गरेसँगै कच्चा तेलको भाउ ह्वात्तै आकाशिएको हो ।
आयल प्राइस डटकमका अनुसार आइतबार (बिहान साढे ११ बजे)सम्म कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ११८ अमेरिकी डलरसम्म पुगको छ । यो सन् २०२२ जुन यताकै धेरै हो । सन् २०२२ फेब्रुअरीमा रसियाले युक्रेन माथि आक्रमण गरेसँगै क्रुड आयलको भाउ बढेर प्रतिब्यारेल १२७ डलरसम्म पुगेको थियो ।
यो समाचार तयार पार्दासम्म एशियाली बेन्चमार्क मुर्बान क्रुडको भाउ करिब ४ प्रतिशतले बढेर प्रतिब्यारेल ११८ डलरमा किनबेच भइरहेको छ ।
त्यसैगरी, विश्व बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य पनि ३.५५ प्रतिशत बढेर प्रतिब्यारेल ११६.७२ डलर पुगेको छ ।
त्यस्तै, अमेरिकी बेन्चमार्क डब्लूटीई क्रुड ३.८० प्रतिशत बढेर प्रतिब्यारेल १०३.८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । यी बाहेक अरु अधिकांश बेन्चमार्कका क्रुड आयलको भाउ बढेको छ ।
अमेरिका र इजरायलले इरान माथि आक्रमण सुरू गरेसँगै बढ्न थालेको तेलको मूल्य गत अप्रिल ७ मा प्रतिब्यारेल ११३ डलरसम्म पुगेको थियो । त्यसयता क्रमशः ओरालो लागेको मूल्य ६७ डलरसम्म झरेको थियो । फेरि, अमेरिका–इरान युद्ध चर्किएसँग अस्वभाविक रुपमा बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेसँगै नेपाल पनि प्रभावित हुनेछ । नेपालले हाल भारतसँग इन्धन खरिद गर्दै आएको छ । विश्व बजारमै भाउ बढेपछि भारतको खरिद लागत बढ्ने र नेपालले पनि महँगोमा किन्नुपर्ने बाध्यता हुनेछ । जसले आगामी दिनमा नेपालमा पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धनको भाउ बढ्ने सम्भावना देखिन्छ ।

