चेरीले ल्यायो रेन्ज एक्सटेन्डर मोटरसाइकल

काठमाडौं । चीनको चर्चित अटोमोबाइल निर्माता चेरी दुईपाँग्रे सवारी बजारमा प्रवेश गरेको छ ।

ओमोडा, जेको, जेटोर, आइकार, एक्सिड लगायत सबब्राण्डमा चारपाँग्रे सवारी उत्पादन गर्दै आएको चेरीले अब इलेक्ट्रीक स्कुटर र मोटरसाइकल बजारमा ल्याएकाे हाे ।

कम्पनीले सिन्नोक्स ब्राण्ड अन्तर्गत रेन्ज एक्सटेन्डेड क्रुजर मोटरसाइकल र इलेक्ट्रीक एड्भेन्चर स्कुटर सार्वजनिक गरेको छ । साथै, कम्पनीले चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) मा इलेक्ट्रीक मोपेडको डिजाइन दर्ता गरेको हो ।

चेरीको ग्रोसी ३ क्रुजर मोटरसाइकलमा विद्युतीय मोटरबाट पाँग्रा चल्ने र ब्याट्री चार्ज गर्न सानो पेट्रोल जेनेरेटर प्रयोग गरिने बताइएको छ ।

रेन्ज एक्सटेन्डेड प्रविधिमा आधारित यस मोटरसाइकलमा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फोन कनेक्टिभिटी, कल तथा म्युजिक सुविधा र ओटीए सफ्टवेयर अपडेट उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपि, यसको मोटर पावर, ब्याट्री क्षमता, वास्तविक रेन्ज र मूल्य सार्वजनिक हुन बाँकी छ ।

त्यस्तै, चेरीले १५० देखि २०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको इलेक्ट्रीक एड्भेन्चर स्कुटर पनि सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यसलाई अटोमोटिभ चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । तर, ब्याट्री क्षमता, चार्जिङ समय, एसी वा डीसी चार्जिङ सपोर्ट बारे जानकारी दिइएको छैन ।

त्यस्तै, कम्पनीले ल्याउने मोपेड यामाहा भीनो सिरिजसँग मिल्दोजुल्दो देखिन्छ । चीनमा यस्ता मोपेडका क्लोन मोडल लामो समयदेखि बिक्री हुँदै आएका छन् । तिनको मूल्य करिब २ हजार चिनियाँ युआन अर्थात् नेपाली रुपैयाँमा २८ हजार रुपैयाँ पर्ने बताइएको छ ।

चेरीको यो योजनाले सस्तो इलेक्ट्रिक मोपेडदेखि प्रिमियम क्रुजर मोटरसाइकल र एड्भेन्चर स्कुटरसम्मका उत्पादनमा कम्पनीको चासो देखाउँछ । यद्यपि, यी मोडलको व्यावसायिक उत्पादन, मूल्य र अन्तर्राष्ट्रिय बजारमा उपलब्धताबारे कम्पनीले थप विवरण सार्वजनिक हुन बाँकी छ ।


Back_to_top