काठमाडौं । अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा क्षेत्रमा रहेको सेन्टर लाइन र इन्टरसेक्सन सम्बनधी विवाद समाधान भएको छ ।
पूर्वाधार विकास मन्त्रालयको पटक पटकको सहजीकरण पश्चात समाधान निस्किएको हो ।
विवाद समाधान भएसँगै लामो समयदेखि रोकिएको बनेपा बजार क्षेत्रको सडक निर्माण कार्य अघि बढेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।
उनका अनुसार हाल सडकको पुरानो सतह हटाउने काम भइरहेको छ । आगामी दुई महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
साँगा धुलिखेल सडक खण्डको सर्भिस लेनसहित कुल लम्बाइ ७.९ किलोमिटरको हो । जसमध्य ६.५ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ । अब बाँकी १.४ किलोमिटर सडकलाई सर्भिस लेनसहित चार लेनमा स्तरोन्नति गरी यस वर्षभित्र निर्माण सम्पन्न गर्ने उनको भनाइ छ ।
१५.८ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडकलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति भइरहेको छ । साँगा-धुलिखेल खण्ड निर्माण अन्तिम चरणमा पुगे पनि साँगा-सूर्यविनायम खण्डको सुस्त छ ।
३ वर्ष भित्र सम्पन्न गर्ने गरी २०७९ मङ्सिर २७ गते ठेक्का सम्झौता भएको यो सडक तोकिएको समयमा काम पूरा नभएपछि दुवै खण्डको १/१ वर्ष म्याद थपिएको छ ।

