चीनमा बीवाइडी, एसएआईसी र जिली बीच कडा टक्कर, कसले बेच्यो धेरै कार

काठमाडौं । चीनका प्रमुख अटोमोबाइल उत्पादकले अक्टोबरमा बिक्री गरेको सवारीसाधनको तथ्यांक धमाधम सार्वजनिक भइरहेका छन् । अहिलेसम्म सार्वजनिक भएको तथ्यांक अनुसार बीवाइडी सबैभन्दा अगाडि देखिएको छ ।

चिनियाँ उत्पादक बीवाइडी, जिली र चेरीले बिक्रीमा वृद्धि हासिल गर्दा नियो, ली अटो र ग्रेटवाल मोटर (जीडब्लूएम) को बिक्री भने घटेको छ ।

अक्टोबरमा बीवाइडीले आफ्नो सबै ब्राण्ड मिलाएर ४ लाख ९० हजार १६८ युनिट नयाँ गाडी बिक्री गरेको छ । यो गत वर्षको सोही महिनाको तुलनामा १०.९७ प्रतिशत र सेप्टेम्बरको तुलनामा ५.७४ प्रतिशतले बढी हो ।

बीवाइडीको लागि अक्टोबर २०२६ खास बन्यो । कम्पनीले पहिलोपटक एक महिनामै ३ लाखभन्दा बढी ब्याट्री इलेक्ट्रीक भेहिकल बिक्री गर्न सफल भयो । अक्टोबरमा बीवाइडीले ३ लाख ५ हजार ७४३ युनिट प्योर ईभी बिक्री गरेको हो । कम्पनीको बिक्रीमा १ लाख ७० हजार १९४ युनिट निर्यातबाट प्राप्त भएको हो ।

दोस्रो धेरै कार उत्पादन र बिक्री एसएआइसी ग्रुपले गर्न सफल भएको छ । एसएआइसी ग्रुपको सम्पूर्ण ब्राण्डहरु मिलाएर ४ लाख ३० हजार १८ युनिट कार बिक्री भएको तथ्यांक बाहिर आएको छ ।

तेस्रो धेरै कार उत्पादन र बिक्री जिली अटोले गरेको छ । कम्पनीले ३ लाख १० हजार १८३ युनिट नयाँ सवारीसाधन अक्टोबरमा बिक्री गरेको हो । जिलीले बिक्री गरेको कार मभ्ये २ लाख १४ हजार ९९६ युनिट न्यू इनर्जी भेहिकल हुन् ।

चौथो धेरै कार चेरी ग्रुपले २ लाख ९५ हजार ९३४ युनिट बिक्री गरेको हो । चेरीले न्यू इनर्जी भेहिकल १ लाख ४० हजार ८९३ युनिट बिक्री गरेको हो । चेरीको निर्यात निकै लोभलाग्दो छ । उसले अक्टोबरमा २ लाख ६१८ युनिट कार निर्यात गरेको हो ।

यता, एक्सपेङले पहिलोपटक एक महिनामै ५० हजार युनिटभन्दा बढी गाडी बिक्री गरेको छ । कम्पनीले अक्टोबरमा ५० हजार २३७ युनिट गाडी डेलिभरी गरेको हो । त्यसमध्ये १३ हजार ३२६ युनिट चीन बाहिर निर्यात भएको हो ।

लीपमोटरले लगातार चौथो महिना १ लाखभन्दा बढी गाडी डेलिभरी गर्दै १ लाख ६ हजार १२७ युनिटको नयाँ रेकर्ड बनाएको छ । साओमी अटोले पनि ५० हजारभन्दा बढी गाडी डेलिभरी गरेको छ ।

तर, नियोको डेलिभरी १५.२३ प्रतिशत घटेर ३४ हजार २४६ युनिटमा सीमित भएको छ । ली अटोको डेलिभरी ८.६३ प्रतिशत घटेर २९ हजार २५ युनिटमा झरेको छ । जीडब्लूएमले १ लाख २० हजार ३७४ युनिट बिक्री गर्दा वार्षिक आधारमा १५.८७ प्रतिशत गिरावट बेहोरेको हो ।

हुवावे नेतृत्वको एचआईएमएको बिक्री पनि ५०.८४ प्रतिशत घटेर ३३ हजार ५३७ युनिटमा झरेको छ ।


Back_to_top