काठमाडौं । नेपाली बजारमा प्रबेश गरेको छोटो अवधिमा नै ३ नयाँ मोडलले आफुलाई स्थापित गरेका छन् । खासगरी विद्युतीय कार बिक्री गर्ने तीन ब्राण्डका नयाँ मोडलले चाडपर्वको समयमा उपभोक्ताको मन जित्न सफल भएका हुन् ।

असारबाट नेपाली बजारमा प्रबेश गरेको प्रोटोन इमास-५ नयाँ मोडलहरु मध्ये सबैभन्दा सफल देखियो । जगदम्बा मोटर्सले नेपाल ल्याएको मलेशियन ब्राण्डको इमास-५ चिनियाँ अटोमोबाइल ग्रुप जिलीको इएक्स-२ को रिब्याचिङ मोडल हो ।
निकै स्मार्ट डिजाइनमा तयार भएको ह्याचव्याक इमास-५ अहिलेसम्म ३५९ युनिट आइसकेको छ । विशेषगरी चाडपर्व लक्षित गरेर इमास-५ को आयात बढेको देखिन्छ ।

दोस्रो धेरै आयात दिपल नेभो क्यू-०५ को देखिन्छ । नाडा अटो शो २०२६ मा सार्वजनिक भएको क्यू-०५ अक्टोबर अन्तिमसम्ममा ३०६ युनिट आयात भएको छ । जुन आयातसँगै नेभो क्यू-०५ ले पनि निकै प्रतिस्पर्धी मानिएको ५० लाख रुपैयाँको सेग्मेन्टमा आफुलाई बलियोसँग स्थापित गर्न सफल भएको छ ।
एमएडब्लू वृद्धिले नेपाल ल्याएको नेभो क्यू-०५ आकर्षक डिजाइन, भरिपूर्ण टेक फिचर र लक्जरी क्याविनको कारण धेरैले रुचाएको मोडल हो । यसलाई धेरै सेलिब्रेटीहरुले पनि आफ्नो ग्यारेजमा सजाएका छन् ।

पायोनियर मोटोकर्पले ल्याएको चेरी क्यूले पनि आफुलाई प्रमाणित गर्ने देखिएको छ । चेरीको पुरानो नेमप्लेटमा आएको चेरी क्यू कम्प्याक्ट युटिलीटी भेहिकल (सीयूभी) हो ।
कम्पनीले अहिलेसम्म चेरी क्यू २०० युनिट आयात गरिसकेको छ । चीन जोड्ने नाकामा धेरै किसिमका समस्याका बाबजुद चेरी क्यू नेपाल आएको हो । चेरी क्यू नाइमा मोविलिटी एक्स्पोबाट बुकिङ खुला भएको मोडल हो । चेरी क्यू अक्टोबरको अन्तिमसाता मात्रै ठूलो संख्यामा भन्सार क्लियर भएको हो ।

