हार्ले डेभिडसनको नयाँ क्रुजर मोटरसाइकल ‘स्प्रिन्ट ४४०’ सार्वजनिक

काठमाडौं । अमेरिकी प्रिमियम मोटरसाइकल निर्माता हार्ले डेभिडसनले आफ्नो नयाँ क्रुजर मोटरसाइकल ‘स्प्रिन्ट ४४०’ इटालीको मिलानमा सार्वजनिक गरेको छ। यसअघि रोडस्टार डिजाइनमा हार्ले एक्स ४४० उत्पादनमा थियो भने अब क्लासिक क्रुजर डिजाइनमा ल्याएको हो ।

हिरो मोटोकर्पसँगको सहकार्यमा उत्पादन गरिएको हार्ले डेभिडसनको एक्स ४४० भन्दा थप सहज र पहुँचयोग्य विकल्पका रूपमा ल्याइएको हो ।

क्लासिक क्रुजर डिजाइन, कम सिट उचाइ र ४४० सीसी सिंगल सिलिन्डर इन्जिनसहित आएको स्प्रिन्ट ४४० नयाँ र अनुभवी दुवै प्रकारका राइडरलाई लक्षित गरी तयार पारिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो मोटरसाइकल विभिन्न अन्तर्राष्ट्रिय बजारमासमेत उपलब्ध हुनेछ ।

क्लासिक क्रुजर डिजाइन र तीन कलर विकल्प

स्प्रिन्ट ४४० मा हार्ले डेभिडसनको परम्परागत क्रुजर डिजाइनलाई निरन्तरता दिइएको छ । यसमा राउन्ड हेडलाइट, आकर्षक फ्युल ट्याङ्क, बोब्ड रियर फेन्डर र सिंगल पिस फास्टब्याक स्टाइल सिट दिइएको छ ।

त्यस्तै, यसमा मेसिन्ड इन्जिन डिटेलिङ, १० स्पोक एलोय ह्वील र टेपर्ड एक्जस्ट उपलब्ध छ । मोटरसाइकललाई डार्क बिलियर्ड ग्रे, भिभिड ब्ल्याक र टिल थन्डर गरी तीन कलर विकल्पमा सार्वजनिक गरिएको छ ।

तीनवटै कलरमा सुन्तला रङको चेकर्ड प्याटर्नसहितको ट्याङ्क ग्राफिक्स र हार्ले(डेभिडसन ब्रान्डिङ दिइएको छ । साथै, यसको साइड प्यानलमा नयाँ ‘हार्ले हेयर’ क्यारेक्टर ग्राफिक्स पनि देख्न सकिन्छ ।

४४० सीसी इन्जिन, २७ पीएस पावर

हार्ले डेभिडसन स्प्रिन्ट ४४० मा ४४० सीसीको सिंगल सिलिन्डर, एयर, अयल कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ६ हजार आरपीएममा २७ पीएस पावर तथा ४ हजार आरपीएममा ३८ एनएम टर्क उत्पादन गर्छ ।

यसमा लोअर आरपीएममा राम्रो टर्क उपलब्ध गराउने उद्देश्यसहित लङ स्ट्रोक इन्जिन सेटअप प्रयोग गरिएको छ । इन्जिनमा सिंगल ओभरहेड क्यामसाफ्ट, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र भाइब्रेसन कम गर्न गियर ड्राइभन काउन्टर ब्यालेन्सर दिइएको छ ।

इन्जिनलाई ६ स्पिड गियरबक्ससँग जोडिएको छ । पाँचौं र छैटौं गियरमा ओभरड्राइभ रेसियो उपलब्ध गराइएको छ, जसले हाइवेमा सहज राइडिङमा सहयोग गर्नेछ । त्यस्तै, यसमा एसिस्ट एन्ड स्लिपर क्लच पनि दिइएको छ ।

कम्पनीका अनुसार मोटरसाइकलले प्रतिलिटर ३४ किलोमिटरसम्म माइलेज दिन्छ । यसमा ९ लिटर क्षमताको फ्युल ट्याङ्क दिइएको छ।

यूएसडी फ्रन्ट फोर्क र डुअल च्यानल एबीएस

स्प्रिन्ट ४४० मा अगाडि ४३ एमएमको इनभर्टेड फ्रन्ट फोर्क दिइएको छ, जसमा १३० एमएम ट्राभल उपलब्ध छ । पछाडि सात स्टेप प्रिलोड एड्जस्ट गर्न मिल्ने ट्विन शक सस्पेन्सन दिइएको छ। यसको रियर सस्पेन्सनमा ७६ एमएम ह्वील ट्राभल रहेको छ ।

मोटरसाइकलमा अगाडि १९ इन्च र पछाडि १७ इन्चको एलोय ह्वील प्रयोग गरिएको छ । यसमा अगाडि १०० सेक्सन र पछाडि १५० सेक्सनको टायर उपलब्ध छ ।

ब्रेकिङका लागि अगाडि ट्विन पिस्टन क्यालिपरसहितको ३२० एमएम डिस्क र पछाडि सिंगल पिस्टन क्यालिपरसहितको २४० एमएम डिस्क ब्रेक दिइएको छ । सुरक्षाका लागि यसमा डुअल च्यानल एबीएस स्ट्यान्डर्ड फिचरका रूपमा उपलब्ध छ ।

मोटरसाइकलको कुल तौल १८७ किलोग्राम रहेको छ भने सिट हाइट ६८३ एमएम छ । कम सिट उचाइका कारण विभिन्न उचाइका राइडरलाई समेत यो मोटरसाइकल चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

३.५ इन्च टीएफटी डिस्प्ले र एलईडी लाइट

रेट्रो डिजाइनमा तयार गरिएको भए पनि स्प्रिन्ट ४४० मा आधुनिक फिचरहरू समावेश गरिएको छ । यसमा ३.५ इन्चको राउन्ड टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । उक्त डिस्प्लेमा स्पिड, इन्जिन आरपीएम, ओडोमिटर तथा ट्रिपसम्बन्धी जानकारी हेर्न सकिन्छ ।

त्यस्तै, मोटरसाइकलमा अल एलईडी लाइटिङ सिस्टम र हेडलाइटमाथि यूएसबी टाइप सी चार्जिङ पोर्ट उपलब्ध छ ।

भारतमा लन्च मिति सार्वजनिक हुन बाँकी

हार्ले डेभिडसन स्प्रिन्ट ४४० लाई हार्ले डेभिडसन र हिरो मोटोकर्पको सहकार्यमा उत्पादन गरिएको हो । यसको भारतीय बजारमा लन्च हुने मिति भने कम्पनीले सार्वजनिक गरेको छैन ।

भारतमा सार्वजनिक भएपछि यसले होन्डा रिबेल ३०० र रोयल इनफिल्ड मिटिओर ३५० जस्ता क्रुजर मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

 


Back_to_top