फक्सवागनको नयाँ इलेक्ट्रीक एसयूभी नोभेम्बर १२ मा सार्वजनिक हुँदै

काठमाडौं । जर्मन अटोमोबाइल कम्पनी फक्सवागनले चीनमा उत्पादन गरेको नयाँ विद्युतीय एसयूभी आईडी इरा ५एक्स नोभेम्बर १२ मा सार्वजनिक गर्ने भएको छ ।

एसएआईसी-फक्सवागनले उत्पादन गरेको यो एसयूभी आईडी इरा सिरिजकै पहिलो पूर्ण विद्युतीय एसयूभी हुनेछ ।

कम्पनीले यसअघि सेप्टेम्बर १५ देखि यसको प्रि-अर्डर खुला गरेको थियो । पाँच सिट क्षमताको यो एसयूभी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ ।

आईडी इरा ५एक्समा १५५ किलोवाट (२०८ हर्सपावर) क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यसमा ४५.८ किलोवाट आवर र ५८.५ किलोवाट आवर क्षमताका एलएफपी ब्याट्री छन् । यी ब्याट्रीले क्रमशः ४१५ र ५२० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

आईडी इरा ५ को लम्बाइ ४५६० एमएम, चौडाइ १८९६ एमएम र उचाइ १६३० एमएम छ । यसमा २८१५ एमएम लामो ह्वीलबेस दिइएको छ ।

यो फक्सवागनको चीनमा विकास गरिएको सीएमपी प्लेटफर्ममा आधारित पहिलो मोडल हो । यसमा फक्सवागन र एक्सपेङले संयुक्त रूपमा विकास गरेको सीईए इलेक्ट्रोनिक आर्किटेक्चर प्रयोग गरिएको छ ।

एसयूभीको टप भेरियन्टमा १९२ च्यानलको लिडार र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध हुनेछ । यसले सहर, हाइवे तथा अटोमेटिक पार्किङमा चालकलाई सहयोग गर्नेछ ।

इन्टेरियरमा ४ न्यानोमिटरको एमटीके ८६७६ चिप, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन दिइएको छ ।


Back_to_top