रोयल इनफिल्डले देखायो ‘हिमालयन ७५०’

काठमाडौं । रोयल इनफिल्डले आफ्नो बहुप्रतीक्षित नयाँ एड्भेन्चर टुरर मोटरसाइकल हिमालयन ७५० सार्वजनिक गरेको छ ।

कम्पनीले इटालीको मिलानमा भइरहेको इक्मा अटो शो २०२६ मा आफ्नो सबै भन्दा ठूलो क्षमताको हिमालयन ७५० मोटरसाइकल देखाएको हो ।

नयाँ ट्विन सिलिन्डर इन्जिनसहित आएको यो मोटरसाइकल कम्पनीको मिडलवेट एड्भेन्चर सेग्मेन्टमा महत्वपूर्ण उत्पादनका रूपमा रहने बताइएको छ ।

नयाँ हिमालयन ७५० मा ७४३ सीसी क्षमताको ट्विन सिलिन्डर, आयल कुल्ड, एसओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ५५ पीएस पावर र ६३ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यसले उपलब्ध गराउने अधिकतम टर्कको ९० प्रतिशत हिस्सा ३ हजार ५०० आरपीएमदेखि नै प्राप्त गर्न सकिन्छ ।

इन्जिनमा इलेक्ट्रोनिक थ्रोटल बडी (इटीबी), स्लिपर क्लच र ६ स्पिड गियरबक्स दिइएको छ । इलेक्ट्रोनिक थ्रोटलका साथै यसमा क्रुज कन्ट्रोल सुविधा पनि उपलब्ध छ । मोटरसाइकलमा रोड, रोड स्पोर्ट, रेन, ट्रेल र कस्टम गरी पाँचवटा राइडिङ मोड दिइएको छ । यी मोडले इन्जिन म्यापिङ, एबीएस र ट्र्याक्सन कन्ट्रोलको कामलाई फरक बनाउँछन् ।

हिमालयन ७५० मा नयाँ बक्स सेक्शन स्पाइन फ्रेम प्रयोग गरिएको छ, जसमा इन्जिनलाई स्ट्रेस्ड मेम्बरका रूपमा राखिएको छ । सस्पेन्सनतर्फ अगाडि ४३ एमएम शोवा यूएसडी फोर्क र पछाडि शोवा मोनोशक दिइएको छ । अगाडिको फोर्कमा कम्प्रेसन, रिबाउन्ड र प्रिलोड एडजस्ट गर्न सकिन्छ भने पछाडिको सस्पेन्सनमा रिबाउन्ड र प्रिलोड एडजस्टमेन्ट सुविधा छ ।

ब्रेकिङका लागि अगाडि डुअल फ्लोटिङ डिस्क र पछाडि सिंगल डिस्क दिइएको छ । यसमा डुअल च्यानल एबीएस, कर्नरिङ एबीएस र लीन सेन्सेटिभ ट्र्याक्सन कन्ट्रोलसमेत उपलब्ध छ ।

हिमालयनमा रेडियल टायर, भेरियन्ट अनुसार अलोय र ट्युबलेस स्पोक ह्वील पाइन्छ । त्यस्तै, यसको ह्विलबेस १५२२ एमएम, ग्राउन्ड क्लियरेन्स २०५ एमएम र सिट हाइट ८१५ एमएम, कर्ब वेट २२४ केजी र फ्युल ट्यांक क्षमता १७.८ लिटरको रहेको छ ।

फिचरका हिसाबले यसमा गुगल म्याप मिररिङ सपोर्ट गर्ने टीएफटी ट्रिपर ड्यास, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), एलईडी हेडलाइट, की बेस्ड इमोबिलाइजर र दुईवटा टाइप सी यूएसबी पोर्ट दिइएको छ ।

त्यसैगरी सेल्फ क्यान्सलिङ टर्न इन्डिकेटर, प्यानिक ब्रेकिङ अलर्ट र फोरजी कनेक्टिभिटीसहितको वीङग्म्यान पनि यसमा उपलब्ध हुनेछ ।

पाँच कलर भेरियन्टमा उपलब्ध रोयल इनफिल्ड हिमालयन ७५० को टप भेरियन्टमा भने थप टुरिङ प्याकेज उपलब्ध हुनेछ । यसमा हिटेड ग्रिप्स, ह्यान्ड गार्ड, जीभी टप बक्स, हार्ड प्यानियर्स र आल्मुनियम सम्प गार्ड दिइएको छ ।

डिजाइनमा एड्भेन्चर र टुरिङलाई प्राथमिकता दिइएको छ । मोटरसाइकलमा हाइट एडजस्ट गर्न मिल्ने विन्डस्क्रिन र आरामदायी यात्राका लागि स्प्लिट सिट दिइएको छ । त्यस्तै, पानी तथा कठिन भूभागमा यात्रा गर्दा सहज होस् भन्ने उद्देश्यले अपस्वेप्ट एक्जस्ट प्रयोग गरिएको छ ।

रोयल इनफिल्डले हिमालयन ७५० को प्राविधिक विवरण सार्वजनिक गरे पनि बजारका लागि मूल्य र औपचारिक बिक्री सुरु हुने मिति भने घोषणा गरिसकेको छैन ।


Back_to_top