काठमाडौं । चीनको चेरी अटोमोबाइल अन्तर्गतको विद्युतीय कार ब्राण्ड आइकारले आफ्नो तेस्रो मोडल भी-२५ लाई १४ दिनपछि बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी नोभेम्बर १९ मा यसलाई चीनबाट बिक्री थाल्नेछ ।
यसअघि आइकार भी-२३ र भी-२७ बजारमा ल्याएको चेरीले यी दुई मोडलको बीचमा रहनेगरी भी-२५ ल्याउन लागेको हो । कम्पनीको भी-२३ प्योर ईभी मोडल हो । यो नेपालमा पनि राम्रो संख्यामा बिक्री हुँदै आएको छ ।
आइकार भी-२५ र भी-२७ दुई एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक भेहिकल (ईआरईभी) मोडल हो ।
आइकारले अक्टोबर १९ देखि नै भी-२५ को प्रि-बुकिङ खुला गरिसकेको छ । यो एसयूभी रियर ह्वील ड्राइभ (आरडब्ल्यूडी) र अल ह्वील ड्राइभ (एडब्ल्यूडी) गरी चार भेरियन्टमा उपलब्ध हुनेछ । यसको प्रि-बुकिङ मूल्य १ लाख ३९ हजार ८०० युआनदेखि १ लाख ७५ हजार ८०० युआनसम्म तोकिएको छ ।
भी-२५ मा १.५ लिटर टर्बो पेट्रोल इन्जिनलाई रेन्ज एक्सटेन्डरका रूपमा प्रयोग गरिएको छ । यसले ११५ किलोवाट पावर उत्पादन गर्छ । यसमा ३३.६७ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । ब्याट्रीबाट मात्रै डब्ल्यूएलटीसी मापदण्डअनुसार १४५ देखि १५० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।
यसको रियर ह्वील ड्राइभ भेरियन्टमा १८५ किलोवाट क्षमताको मोटर छ । अल ह्वील ड्राइभ भेरियन्टमा भने दुईवटा मोटरले संयुक्त रूपमा ३३५ किलोवाट पावर उत्पादन गर्छन् ।
आइकार भी-२५ को लम्बाइ ४६३६ एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । कम्पनीले यसमा होराइजन रोबोटिक्सको जर्नी ६पी चिपमा आधारित फाल्कन ७०० प्लस ड्राइभर असिस्टेन्स सिस्टम दिएको छ ।

