काठमाडौं । तिब्र प्रतिस्पर्धा चलिरहेको नेपाली ईभी बजारमा कुनै पनि नयाँ मोडलल बलियो उपस्थिति जनाउनु अब सहज छैन । स्थापित ब्राण्डको चुनौती चिर्दै थपिने नयाँ ब्राण्डको लागि नेपाली कार बजार फलामको चिउरा सरह बनिसकेको छ ।
तर, मूल्यका हिसाबले दिपल एस-०५ माथिल्लो श्रेणीमै परेपनि नेपाली उपभोक्ताले खुबै रुचाए । सन् २०२५ सेप्टेम्बरदेखि २०२६ अक्टोबरसम्मको १४ महिनामा ९९८ युनिट दिपल एस-०५ आयात भयो । अब २ युनिट थप भएसँगै १ हजार युनिटको रेकर्डमा एस-०५ पुग्नेछ ।
नेपाली बजारमा नयाँ ईभी ब्राण्ड स्थापित गर्न खोजिरहेका अन्य कम्पनीका लागि दिपल एस-०५ को उपलब्धि प्रेरणादायी हुनसक्छ ।
दिपल एस-०५ को यो सफलतामा आकर्षक डिजाइन, आधुनिक प्रविधि, प्रतिस्पर्धी मूल्य जस्ता कुरा त छँदैछ, दिपलले अपनाएको आक्रामक ब्राण्डिङ रणनीति झनै महत्वपूर्ण देखिन्छ ।

फिचरमा नयाँपन, डिजाइनमा आकर्षण
दिपल एस-०५ को सफलताको पहिलो आधार उत्पादन नै हो । ५० लाख रुपैयाँभन्दा बढी रकम हालेर एसयूभी खोज्नेले आकर्षक डिजाइन, पर्याप्त स्पेस, आधुनिक प्रविधि र प्रिमियम अनुभव चाहन्छन् । एस-०५ ले यी सबै पक्षलाई एउटै प्याकेजमा समेट्यो ।
कुपे शैलीको स्लोपिङ रूफलाइन, फ्रेमलेस डोर, फ्युचरिस्टिक एलईडी लाइटिङ र आकर्षक बडी डिजाइन यसको बलियो पक्ष भएर आयो । युवा पुस्ताका कार प्रयोगकर्तालाई लक्षित गर्ने डिजाइन र लोभलाग्दो इन्टेरियरले छोटो समयमा नै एस-०५ स्थापित बन्यो ।
ड्यास बोर्डमा रहेको ठूलो सेन्ट्रल टचस्क्रिन, मोर्डन शैलीको ड्यासबोर्ड डिजाइनले कारको क्याबिनलाई फरक अनुभव दिन्छ । यसमा उपलब्ध क्विन को-पाइलट सिट, जिरो ग्राभिटि सिट, भेन्टिलेटेड तथा हिटेड सिटले धेरैलाई तान्यो ।
त्यस्तै, हेडअप डिस्प्ले, रिमोर्ट इन आउट पार्किङ, एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडास), सोनीको साउन्ड सिस्टम र भेहिकल टु लोड सुविधाले उपभोक्ता आधुनिक कारको अनुभव दियो ।
एस-०५ मा ५६.१ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । रियर ह्वील ड्राइभ सिस्टम र १०० किलोवाटको मोटरले राम्रो थ्रोटल रेस्पोन्स दिन्छ ।
गाडीको प्रचारभन्दा ब्राण्डको चर्चा
एस-०५ को बिक्री सफलताको अर्को महत्वपूर्ण पक्ष दिपलको मार्केटिङ र ब्राण्डिङ रणनीति हो । नेपालमा नयाँ अटोमोबाइल ब्राण्ड भित्रिँदा सामान्यतया गाडीको मूल्य, रेन्ज, ब्याट्री र फिचरलाई केन्द्रमा राखेर प्रचार गर्ने गरिन्छ । तर, दिपलले आफ्नो ब्राण्डलाई प्रविधि, मनोरञ्जन र आधुनिक जीवनशैलीसँग जोड्ने प्रयास गरेको देखियो ।
दिपलले नयाँ मोडल सार्वजनिक गर्दा नै फरक शैली अपनाएको थियो । एस-०७ सार्वजनिक गर्दा थ्रीडी प्रोजेक्सन म्यापिङ र एस-०५ सार्वजनिक गर्दा एनामोर्फिक इलुजन डिस्प्लेजस्ता प्रविधि प्रयोग गरेर कार्यक्रमलाई चर्चित बनाउने प्रयास गरेको थियो । यसले गाडी सार्वजनिक हुनुअघि आएका भिडियो र समाचारको सहयोगमा उपभोक्ताको ध्यान तान्न सफल भयो ।
अहिलेका उपभोक्ता गाडी किन्नुअघि युट्युबमा गाडीको समीक्षा, सामाजिक सञ्जाल र प्रयोगकर्ताको अनुभव हेर्ने गर्छन् । दिपलले यही बदलिँदो उपभोक्ता व्यवहारलाई आफ्नो मार्केटिङको हिस्सा बनाएर अगाडि बढेको देखिन्छ ।
ब्राण्डिङले ल्यायो ग्राहक, उत्पादनले गरायो खरिद
दिपल एस-०५ को सफलतालाई एउटा पक्षबाट मात्रै व्याख्या गर्दा न्यायसँगत हुँदैन । आकर्षक डिजाइन र धेरै फिचरले ग्राहकलाई गाडीतर्फ आकर्षित गरेको सहजै अनुमान गर्न सकिन्छ ।
गाडीको प्रचारले ग्राहकलाई शोरुमसम्म ल्याउन सक्छ, तर अन्तिम खरिद निर्णय उत्पादनको मूल्य, गुणस्तर र अनुभवले नै गराउँछ । एस-०५ को छोटो समयमा ९९८ युनिट आयात तथ्यांकले दिपलले यी दुवै पक्षमा बलियो काम गरेको देखाउँछ ।
दिपल एस-०५ को छोटो समयको उपलब्धिले एउटा कुरा स्पष्ट पारेको छ । नेपाली बजारमा गाडी बेच्न उत्पादन राम्रो हुनुपर्छ, तर ब्राण्ड स्थापित गर्न त्यसको कथा पनि राम्रोसँग भन्न जान्नुपर्छ ।

