काठमाडौं । स्मार्टले चीनमा नयाँ विद्युतीय कार ‘स्मार्ट #२’ सार्वजनिक गरेको छ । दुई ढोका र दुई सिट भएको यो माइक्रो ईभीको मूल्य भने एसयूभी सरह नै छ ।
चीनमा १२ हजार अमेरिकी डलर तिर्दा नै राम्रा इलेक्ट्रीक एसयूभी पाउन सकिन्छ । यस्तोमा स्मार्ट #२ को प्रिमियम भेरियन्ट किन्न ९९ हजार ९०० युआन (करिब १४ हजार ९०० अमेरिकी डलर) तिर्नु पर्ने हुन्छ ।
यो सानो कार विश्व चर्चित कार निर्माता मर्सिडिज बेन्जको ग्लोबल डिजाइन टिमले तयार पारेको हो । स्मार्ट #२ ले पुरानो स्मार्ट फोट्र्वोको डिजाइनलाई निरन्तरता दिएको छ ।
मिनी कारको लम्बाइ २७५१ एमएम मात्रै छ । यसको चौडाइ १६६९ एमएम र उचाइ १५५५ एमएम छ । यसमा ह्वीलबेस १८७५ एमएम लामो छ । अगाडि साँघुरा र पछाडि केही फराकिला टायर प्रयोग गरेर मिनी कारमा स्टेयरिङलाई चुस्तसँगै सडकमा राम्रो ग्रिप र स्थिरता बढाउने काम भएको कम्पनीले जनाएको छ ।
स्मार्ट #२ को इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ टचस्क्रिन, ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, २५६ रङको एम्बियन्ट लाइट र सेनहाइजर साउन्ड सिस्टम उपलब्ध छ । यसमा हिटेड स्टेयरिङ ह्वील र हिटेड सिट पनि छ ।
कम्पनीले स्मार्ट #२ मा पछाडि राखिएको सिंगल इलेक्ट्रीक मोटरले ६० किलोवाट पावर दिन्छ । यसमा सीएटीएलले उत्पादन गरेको ३५.८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । उक्त ब्याट्रीलाई फास्ट चार्जरबाट १५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सुरक्षाका लागि ७ वटासम्म एयरब्याग, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन र लेन डिपार्चर प्रिभेन्सन जस्ता फिचर छन् । एडास फिचरले चालकलाई राम्रो सहायता गर्नेछ ।
यसको टर्निङ रेडियस केबल ३.३५ मिटर मात्रै छ । यसले साँघुरा सहरी सडकमा चलाउन र पार्किङ गर्न र गाडी घुमाउन निकै सहज हुनेछ ।

