काठमाडौं । चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीको प्रिमियम ब्राण्ड याङवाङको सुपरकार यू९ एक्स्ट्रिमले उत्पादन कारको विश्व गति रेकर्ड तोडेको छ । यो कारले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ५०३.१७ किलोमिटर प्रतिघण्टाको उच्चतम गति हासिल गरेको हो ।
नोभेम्बर ६ मा सार्वजनिक भएको रिपोर्टअनुसार नोभेम्बर १ देखि सुरु भएको उच्च गति परीक्षणका क्रममा यू९ एक्स्ट्रिमले उक्त गति हासिल गरेको हो । यससँगै ५०० किलोमिटर प्रतिघण्टाको सीमा पार गर्ने पहिलो उत्पादन कार बनेको छ ।
यसअघि यही कारले ४९६.२२ किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो । नयाँ रेकर्डले पुरानो रेकर्डभन्दा ६.९५ किलोमिटर प्रतिघण्टाले बढी गति हासिल गरेको हो । ५०३.१७ किलोमिटर प्रतिघण्टाको गतिमा गुड्दा यो कारले एक सेकेन्डमा करिब १४० मिटर दूरी पार गर्छ ।
अबुधाबीस्थित ई११ मोटरवेमा रहेको बन्द परीक्षण खण्डमा गरिएको उक्त परीक्षणमा चालक मार्क बासेङले कार चलाएका थिए । यसअघि व्यावसायिक परीक्षण ट्र्याकमा मात्रै गरिएको उच्च गति परीक्षण यसपटक वास्तविक सडकमा गरिएको थियो ।
परीक्षणका क्रममा उच्च तापक्रम, क्रसविन्ड र मरुभूमिको धुलोजस्ता चुनौतीसमेत सामना गर्नुपरेको थियो । याङवाङ सेल्स डिभिजनका महाप्रबन्धक हु सियाओछिङले अक्टोबर २९ मै यस परीक्षण अभियानबारे जानकारी दिएका थिए ।
उत्पादन कारले ५०० किलोमिटर प्रतिघण्टाको गति पार गर्नु अटोमोबाइल उद्योगमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले विद्युतीय सुपरकारको गति र प्रदर्शन क्षमतामा भइरहेको विकासलाई समेत देखाएको छ ।

