काठमाडौं । जापानी दुईपाङ्ग्रे सवारीसाधन निर्माता यामाहाले आफ्नो नयाँ प्रिमियम इलेक्ट्रीक स्कुटर ‘एनम्याक्स ई’ सार्वजनिक गरेको छ । इटालीको मिलानमा आयोजना भइरहेको इक्मा अटोशोमा सार्वजनिक गरिएको यो स्कुटर यामाहाको लोकप्रिय म्याक्स सिरिजबाट प्रेरित स्कुटर हो ।
यामाहाले नयाँ एनम्याक्स ईलाई प्रिमियम इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा प्रवेश गराउने मोडलका रूपमा प्रस्तुत गरेको छ।
यसलाई युरोपेली बजारमा सन् २०२७ को फ्रस्ट क्वाटरमा बिक्रीका लागि उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
स्पोर्टी डिजाइन र आधुनिक फिचर
यामाहा एनम्याक्स ईमा आधुनिक र स्पोर्टी डिजाइन दिइएको छ । यसमा डुअल एलईडी हेडलाइट, कम्प्याक्ट टर्न इन्डिकेटर र आरामदायी राइडिङ पोजिसन उपलब्ध छ । स्कुटरलाई एभियो ब्लु र प्लेटिनम सिल्भर गरी दुई कलर विकल्पमा सार्वजनिक गरिएको छ ।
यसमा फराकिलो फुटबोर्ड र फुल फेस हेलमेट राख्न मिल्ने अन्डर सिट स्टोरेज दिइएको छ । त्यस्तै, ५ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध छ । यसले स्कुटरको विभिन्न जानकारी तथा राइडिङ डाटा देखाउँछ ।
फिचरका हिसाबले यसमा यामाहा मोटर अन एपमार्फत स्मार्टफोन कनेक्टिभिटी, टर्न-बाइ-टर्न नेभिगेसन, ट्र्याक्सन कन्ट्रोल, स्मार्ट की सिस्टम र एबीएस उपलब्ध छ ।
त्यस्तै, यसमा रिभर्स मोड र स्पोर्ट, टुरिङ तथा इको गरी तीनवटा राइडिङ मोड दिइएको छ । राइडरले आफ्नो आवश्यकता र सडकको अवस्थाअनुसार राइडिङ मोड छनोट गर्न सक्नेछन् ।
७.५ किलोवाटको मोटर र १०४ किलोमिटर रेन्ज
यामाहा एनम्याक्स ईमा ७.५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ । यसमा ३.५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा १०४ किलोमिटर रेन्ज प्रदान गर्छ ।
स्कुटरमा ८०० वाट क्षमताको अनबोर्ड चार्जर उपलब्ध छ । यसले ब्याट्रीलाई फुल चार्ज गर्न ५.५ घण्टासम्म लाग्छ ।
यसमा अगाडि ३३ एमएमको टेलिस्कोपिक फ्रन्ट फोर्क र पछाडि ट्विन शक एब्जर्बर दिइएको छ । ब्रेकिङका लागि अगाडि र पछाडि दुवैतर्फ २४५ एमएमको डिस्क ब्रेक उपलब्ध छ । यसमा एबीएस र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिइएको छ ।

