तयार भयो जेटोरको पहिलो प्योर ईभी, सोमबारदेखि प्रि-बुकिङ खुल्ने

काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक चेरीको सबब्राण्ड जेटोरको पहिलो प्योर इलक्ट्रीक एसयूभी टीएक्स (टुरर) बिक्रीका लागि तयार भएको छ । कम्पनीले यही नोभेम्बर १६ (आगामी सोमबारदेखि) जेटोर टीएक्सको प्रि-बुकिङ खुला गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार सन् २०२६ को जेटोर ग्लोबल ट्राभल प्लस कन्फरेन्सका क्रममा टीएक्सको प्रि-बुकिङ खुला गर्न लागिएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने यो गाडीमा फाल्कन ५०० इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम उपलब्ध हुनेछ ।

यसको बाहिरी डिजाइन निकै आकर्षक छ । यसको अगाडिको भागमा ‘क्लोज्ड-अफ ग्रिल’ डिजाइन दिइएको छ । जसमा रेट्रो शैलीका दुईवटा गोलाकार हेडलाइट र एरोडायनामिक एयर डक्टहरू राखिएका छन् ।

टीएक्सको लम्बाइ ४ हजार ६०५ एमएम, चौडाइ १ हजार ८८० एमएम र उचाइ १ हजार ७०० एमएम रहेको छ । यसमा २ हजार ७३५ एमएम लामो ह्वील बेस पाउन सकिन्छ ।

यसको ड्र्याग कोइफिसियन्ट ०.३२ रहेको छ । यसमा २१ डिग्रीको अप्रोच एंगल, २६ डिग्रीको डिपार्चर एंगल र २०० एमएम ग्राउण्ड क्लियरेन्स दिइएको छ । त्यस्तै, यो गाडी ५०० एमएम गहिराइसम्मको पानीबाट गुड्न सक्छ । यसमा अफरोड क्रल कन्ट्रोल र ट्यांक टर्न फङ्सनसमेत उपलब्ध हुनेछ ।

टीएक्सको इन्टेरियरमा १५.६ इन्चको २.५ के रिजोलुसन भएको सेन्ट्रल टचस्क्रीन दिइएको छ । यसले टुर ओएस ३.५ सिस्टममा काम गर्छ । यसमा आइफ्लाइटेक भ्वाइस रिकग्निसन र डुबाओ लार्ज ल्याङ्ग्वेज मोडल पनि समावेश गरिएको छ । जेटोर टीएक्समा क्वालकम स्न्यापड्रागन ८७७५ ककपिट तथा ड्राइभिङ सिस्टमलाई एउटै चिपमा समेटिएको छ ।

यसको सिट ११ तहको संरचनामा तयार गरिएको छ । अगाडिका सिटमा हिटिङ, भेन्टिलेसन र ८ पोइन्ट मसाज सुविधा उपलब्ध हुनेछ । त्यस्तै, अगाडिको यात्रु सिटलाई एकैपटक बटन थिचेर पछाडि ढल्काउन सकिने सुविधा दिइएको छ । जसलाई ‘क्विन्स को पाइलट’ सिट भनिएको छ ।

टीएक्सको भित्री भागमा उपलब्ध ठाउँको ८५ प्रतिशत उपयोग गर्न सकिने कम्पनीको दाबी छ । यसमा ३१ वटा सामान राख्ने स्थान र १५० लिटरको फ्रन्ट ट्रंक पनि दिइएको छ ।

जेटोर टीएक्स टु ह्वी र अल ह्वील ड्राइभ अप्समा उपलब्ध हुनेछ । यसको टु ह्वील भर्सनमा २०० किलोवाट र फोर ह्वीलमा ३९६ किलोवाटको मोटर छ । यसका सबै भेरियन्टमा चेरीको ६७.२ किलोवाट आवर क्षमताको ‘राइनो’ ब्याट्री प्याक दिइनेछ । उक्त ब्याट्रीले एकपटकको फुलचार्जमा ५५० किलोमिटर सीएलटीसी रेन्ज दिनेछ ।

यसको फोर ह्वील ड्राइभ भर्सनले करिब ५ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गति भेटाउन सक्छ । यसको ऊर्जा खपत प्रति १०० किलोमिटरमा १३.५ किलोवाट आवर रहेको छ । त्यस्तै, यसमा ६.६ किलोवाट क्षमताको भेहिकल टु लोड (भीटुएल) सुविधा पनि उपलब्ध हुनेछ ।

टीएक्सको अगाडि म्याकफर्सन र पछाडि फाइभ लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ । यसमा उपलब्ध फाल्कन ५०० सिस्टमले हाइवे एनओए (नेभिगेट अन अटोपाइलट), सिटी एनओए र विभिन्न परिस्थितिमा स्वचालित पार्किङ सुविधा प्रदान गर्नेछ ।

सुरक्षाका लागि यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर प्रिभेन्सन, ब्लाइण्ड स्पट डिटेक्सन, रियर क्रस ट्राफिक अलर्ट,
५४० डिग्री पानोरामिक क्यामेरा लगायत फिचर छन् ।

हाल नेपाली बजारमा लक्ष्मी मोटरहबले जेटोर ब्राण्डका गाडी बिक्री गर्दै आएको छ । कम्पनीले ब्राण्डको पहिलो ईभी टीएक्स पनि नेपाल ल्याउने सम्भावना बलियो छ ।


Back_to_top