काठमाडौं । नेपालमा क्रुजर स्टाइलमा निर्माण भएका मोटरसाइकलको छुट्टै क्रेज देखिन्छ । सहर तथा हाइवेमा लामो राइड गर्न निकै आरामदायी हुने भएकाले क्रुजर मोटरसाइकल युवादेखि पाका उमेरका राइडरसम्मको रोजाइ बनेको छ ।
यद्यपि, क्रुजर डिजाइनका मोटरसाइकल तुलनात्मक रूपमा महँगा हुनछन् । हाल नेपाली बजारमा आधारदर्जन बढी मोडलका क्रुजर मोटरसाइकल उपलब्ध छन् । पछिल्लो समय थप नयाँ नयाँ मोडल पनि भित्रिरहेका छन् ।
नेपाली बजारमा २५० सीसी क्षमताको क्रुजर मोटरसाइकल खोज्ने ग्राहकका लागि कम मूल्यमै मोर्बिडेली सी २५२ भी र क्यूजेमोटर एसआरभी २५० दुई विकल्प उपलब्ध भएका छन् । आकर्षक मूल्य, भी ट्विन इन्जिन, लो सिट डिजाइन र क्लासिक क्रुजर लुकका कारण दुवै मोटरसाइकल चर्चामा छन् ।
यहाँ हामीले यी दुई मोटरसाइकलको डिजाइन, पावर, फिचर, मूल्य बारेमा तुलनात्मक रूपमा विश्लेषण गरेका छौं ।
डिजाइन
मोर्बिडेली सी २५२ भीमा क्लासिक क्रुजर डिजाइनसँग आधुनिक टच दिइएको छ । यसको गोलाकार फुल कलर एलसीडी डिस्प्ले, एलईडी लाइटिङ, फराकिलो टायर सिंगल ब्यारल एग्जस्ट र माथि उठाइएको टीबार स्टाइल ह्याण्डलबारले यसलाई फरक लुक दिन्छ । यसमा ६९० एमएमको सिट हाइट छ, जसले कम उचाइ भएका राइडरलाई पनि मोटरसाइकल सम्हाल्न सहज बनाउन सक्छ ।

क्यूजेमोटर एसआरभी २५० मा नियो रेट्रो बबर डिजाइन दिइएको छ । लो स्लङ सिट, फराकिलो ह्याण्डलबार, डबल ब्यारल एग्जस्ट, अगाडि सारिएका फुटपेग, सानो गोलाकार डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र क्लासिक क्रुजर सिलुएट यसको मुख्य आकर्षण हुन् । यसमा ७०० एमएमको सिट हाइट छ । कम हाइट भएकाले दुवै मोटरसाइकललाई होचो कद भएका राइडरहरूले पनि सहजै ब्यालेन्स गर्न सक्छन् ।
इन्जिन र पावर
सी २५२ भीमा २४९.१ सीसीको लिक्विड कुल्ड, टु सिलिण्डर, भी ट्विन, इन्जिन, फोर स्ट्रोल ८ भल्ब, एसओएचसी, इएफआई इन्जिन छ । उक्त इन्जिनले अधिकतम २५.४८ एचपी पावर र २५ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड गियरबक्ससँग बेल्ट ड्राइभ सिस्टम दिइएको छ ।
एसआरभी २५० मा २४९ सीसीको लिक्विड कुल्ड, भी ट्विन, फोर स्ट्रोक ४ भल्ब, एसओएचसी, इएफआई इन्जिन छ । यसले अधिकतम २७.५ एचपी पावर तथा २३ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स र चेन ड्राइभ सिस्टम दिइएको छ ।

पावरमा क्यूजे मोटर अघि र टर्कमा मोर्बिडेली अघि छ । दुवैको अधिकतम पावर समान आरपीएममा उपलब्ध हुन्छ, तर टर्क उत्पादन हुने आरपीएम फरक छ । त्यसैले वास्तविक एक्सेलेरेसन र राइडिङ अनुभव सडक परीक्षणपछि मात्र स्पष्ट हुन्छ ।
टेक फिचर
फिचरको हिसाबले मोर्बिडेली सी २५२ भीमा केही उल्लेखनीय उपकरण छन् । यसमा बोस डुअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लिपर क्लच, बेल्ट ड्राइभ, डुअल केबल थ्रोटल कन्ट्रोल, फुल एलईडी लाइटिङ, डिजिटल एलसीडी डिस्प्ले, यूएसबी चार्जिङ पोर्ट लगायतका टेक फिचरहरू छन् ।
क्यूजेमोटर एसआरभी २५० मा डुअल च्यानल एबीएस, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फुल एलईडी लाइटिङ, वेट मल्टिप्लेट क्लचसँग एएससी र यूएसबी चार्जिङ पोर्ट दिइएको छ ।

ब्रेकिङ र सस्पेन्सन
सी २५२ भीमा अगाडि ३२० एमएम र पछाडि २६० एमएमको डिस्क ब्रेक दिइएको छ । अगाडि ३७ एमएमको यूएसडी फोर्क र पछाडि प्रिलोड एड्जस्ट गर्न मिल्ने डुअल शक एब्जर्बर छ । यसमा अगाडि १३० र ९०–१६ र पछाडि १५० र ८०–१६ साइजका टायर तथा अलोय ह्वील प्रयोग गरिएको छ ।
एसआरभी २५० मा अगाडि २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक छ । यसमा पनि अगाडि यूएसडी फोर्क र पछाडि डुअल शक एब्जर्बर दिइएको छ । यसको अगाडिको टायर १२० र ८०–१६ र पछाडिको टायर १५० र ८०–१५ साइजको छ भने यसमा पनि अलोय ह्वील पाइन्छ ।
मूल्य
मूल्यका हिसाबले मोर्बिडेली सी २५२ भी ५० हजार ९०० रुपैयाँले महँगो छ । नेपालमा मोर्बिडेलीको आधिकारिक बिक्रेता वैद्य अग्रनाइजेसनले १० लाख २९ हजार ९०० रुपैयाँ मूल्य तोकेर सी २५२ भी मोटरसाइकल बिक्री गरिरहेको छ ।

क्यूजे मोटर ब्राण्ड नेपालमा हालै बिक्री सुरू भएको हो । नेपालका लागि क्यूजेमोटरको आधिकारिक बिक्रेता ह्याम्स मोटर्सले एसआरभी २५० को मूल्य ९ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
निष्कर्ष
क्यूजे मोटर पावरमा अगाडि छ भने मूल्य सस्तो छ । मोर्बिडेली टर्क, तथा केही आधुनिक फिचरमा अगाडि देखिन्छ । कुन मोटरसाइकल उपयुक्त हुन्छ भन्ने कुरा राइडरको प्राथमिकतामा निर्भर गर्छ । बढी पावर खोज्नेले क्यूजेमोटर एसआरभी २५० लाई प्राथमिकतामा राख्न सक्छन् भने बढी टर्क र थप इलेक्ट्रोनिक फिचर चाहनेका लागि मोर्बिडेली सी २५२ भी आकर्षक विकल्प हुन सक्छ ।

