काठमाडौं । बेलायती लक्जरी गाडी निर्माता जगुआर ल्यान्ड रोभर (जेएलआर) ले चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडीमाथि आफ्नो चर्चित एसयूभी डिफेन्डरको डिजाइन तथा प्रविधिको नक्कल गरेको आरोप लगाएको छ ।
यस विषयमा जेएलआरले नेदरल्यान्ड्समा कानुनी प्रक्रिया अघि बढाएको छ । कम्पनीले बीवाइडीसँग आवश्यक सूचना माग गरेको र आफूले सहयोग गर्न सबै प्रयास गरेको दाबी गरेको छ । तर, बीवाइडीका वकिलहरूले जेएलआरको कदमलाई प्रमाण खोज्ने उद्देश्यले गरिएको अनावश्यक अनुसन्धान भन्दै धेरै फाइल नियन्त्रणमा लिइएको प्रति आपत्ति जनाएका छन् ।
मुद्दा हेगस्थित अदालतमा पुगेको छ । अदालतबाट प्रारम्भिक निर्णय आउने अपेक्षा गरिएको छ । मुद्दामा डिजाइन, प्रविधि र बौद्धिक सम्पत्ति अधिकार उल्लंघनसम्बन्धी प्रमाणको परीक्षण हुनेछ ।
विवाद बीवाइडीको एसयूभी टीआई७ ले निम्त्याएको हो । ५१४६ एमएम लामो सात सिट क्षमताको टीआई ७ एसयूभी सन् २०२५ सेप्टेम्बरदेखि चीनमा बिक्री हुँदै आएको थियो । यसको बक्सी डिजाइन र ठाडो बनोट ल्यान्ड रोभर डिफेन्डरसँग मिल्दोजुल्दो रहेको टिप्पणी हुँदै आएको छ ।
बीवाइडीले गत जुलाईमा बेलायतमा समेत टीआई७ सार्वजनिक गरेको थियो । यसको प्रारम्भिक मूल्य ४७ हजार ९९५ पाउन्ड राखिएको छ, जुन डिफेन्डरभन्दा २० हजार पाउन्डभन्दा बढीले कम हो ।
यसअघि सन् २०१९ मा पनि जेएलआरले रेन्ज रोभर इभोकको डिजाइन नक्कल गरेको आरोपमा चिनियाँ कम्पनी जियाङलिङ मोटर कर्पोरेसनविरुद्ध मुद्दा जितेको थियो । पछिल्लो समय बेलायतमा चिनियाँ ब्रान्डको बजार हिस्सा बढेर नयाँ गाडी दर्ताको २३ प्रतिशत पुगेको छ ।

