काठमाडौं । विश्वकै तेस्रो ठूलो अटोबजार भारतमा पछिल्लो समय विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेको छ । बजारमा माग बढेसँगै विदेशीसँगै भारतीय अटो ब्राण्डहरूले धमाधम नयाँ मोडल ल्याइरहेका छन् ।
भारतीय बजारमा ‘इण्डिया मेड’ ईभीकै वर्चश्व देखिन्छ । सन् २०२६ को हालसम्म भारतमा उत्पादन भएका झण्डै आधादर्जन नयाँ ईभी मोडल लन्च भइसकेका छन् । यो वर्ष महिन्द्रा एक्सयूभी थ्री एक्सओ, मारुती र्ई भिटारा, टोयोटा अबर्न क्रुजर, किया सिरोस ईभी लगायत मोडल बजारमा आए ।
साथै, चाँडै भारतमै उत्पादन भएका थप ४ नयाँ ईभी बजारमा आउने भएका छन् । टाटा, हुन्डाई, महिन्द्रा र होण्डाले नयाँ ईभी ल्याउने भएका हुन् । टाटाले सफारी ईभी, हुन्डाईले आयोनिक पी, महिन्द्राले बीई ०७ होण्डाले ० अल्फा र हुन्डाईले नयाँ कम्याक्ट एसयूभी ल्याउने भएका हुन् । यी नयाँ ईभी सन् २०२६ को अन्त्यदेखि सन् २०२७ को मध्यसम्म बजारमा आउने सम्भावना छ ।
यी चार वटै ईभी भारतमा बिक्री सुरू भएपछि नेपाली बजारमा पनि आउने छन् । टाटा, हुन्डाई र महिन्द्राका ईभी हाल नेपालमा बिक्री भइरहेकाले नयाँ मोडल पनि आउने लगभग निश्चित छ । होण्डाका आइस कार मात्रै बिक्री भइरहेकाले पहिलो मोडलको रूपमा ० अल्फा आउने सम्भावना बलियो छ ।
१. टाटा सफारी ईभी
टाटा मोटर्सले आफ्नो लाइनअपको सबैभन्दा ठूलो ईभी मोडलको रूपमा सफारी ईभी ल्याउँदै छ । सफारी ईभी सम्भवतः यही नोभेम्बर महिना भित्रै सार्वजनिक हुनेछ ।

टाटा सफारी ईभीले महिन्द्रा एक्सईभी ९ एस र एमजी टोमहक ईभीसँग प्रतिस्पर्धा गर्नेछ । थ्री रो एसयूभीको रुपमा उपलब्ध हुने सफारीमा ६ र ७ सिटको विकल्प हुनेछ । स्पाइ तस्बिरहरूका अनुसार यसमा अगाडिको यात्रुका लागि भिडियो, गेम र नेभिगेसन चलाउन मिल्ने छुट्टै टच स्क्रीनसहित तीनवटा ड्यासबोर्ड डिस्प्ले रहनेछन्। टाटाले यसलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ दुवै अप्सनमा ल्याउने छ ।
सफारी ईभीमा ६५ किलोवाट आवर र ७५ किलोवाट आवरको ब्याट्रीप्याक रहने सम्भावना छ । यसको ठूलो ब्याट्रीले एकपटकको फुल चार्जमा करिब ६०० किमीसम्म रेन्ज दिने अपेक्षा गरिएको छ ।
२. हुन्डाई आयोनिक पी
कोरियाली अटो उत्पादक हुन्डाईले आफ्नो नयाँ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी ‘आयोनिक पी’ पनि चाँडै बजारमा ल्याउँदै छ । हाल सडक परीक्षणको क्रममा रहेको उक्त एसयूभी सम्भवतः आगामी फेब्रुअरी ४ देखि आयोजना हुने भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक हुने सम्भावना छ ।

क्रेटा इलेक्ट्रीकभन्दा तल रहने यो एसयूभी पूर्ण रूपमा नयाँ डिजाइनमा तयार भइरहेको छ । यो हुन्डाईको ग्लोबल ई जीएमपी के प्लेटफर्ममा आधारित हुनेछ । यसमा ४२ किलोवाट आवर र ४९ किलोवाट आवरका दुई ब्याट्री विकल्प उउपलब्ध हुने सम्भावना छ । यसको टप भेरियन्टले ५०० किमी बढी रेन्ज दिनेछ ।
गाडीमा नयाँ पुस्ताको इन्फोटेनमेन्ट सिस्टम, लेभल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम लगायतका प्रविधि उपलब्ध हुने भएको छ । बक्सी डिजाइन र अपराइट स्टान्समा आधारित हुने एसयूभीमा एलईडी लाइटिङ र डुअल टोन अलोय ह्वील रहने अपेक्षा छ ।
३. महिन्द्रा बीई ०७
महिन्द्राले आफ्नो लाइनअप विस्तार गर्दै चाँडै नयाँ एसयूभी बीई ०७ बजारमा ल्याउने भएको छ । कम्पनीले सन् २०२७ को मध्यसम्म ५ नयाँ मोडल ल्याउने घोषणा गरेको छ । जसमा बीई ०७ लाई पनि समावेस गरेको छ ।
महिन्द्रा बीर्ई ०७ विद्युतीय एसयूभीले बजारमा उपलब्ध बीई ६ मोडलसँग पावरट्रेन साझा गर्ने अपेक्षा गरिएको छ । यो ५९ किलोवाट आवर, ७० किलोवाट आवर र ७९ किलोवाट आवर ब्याट्री प्याक विकल्पमा आउने छ । यसको माथिल्लो भेरियन्टले ७०८ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने दाबी गरिएको छ।
यस गाडीको भित्री भागमा ट्रिपल स्क्रीन ड्यासबोर्ड, ड्यासक्याम, लाइटसहितको ग्लास रुफ, मल्टिकलर एम्बियन्ट लाइटिङ र लेभल २ एडास प्रविधि जस्ता अत्याधुनिक सुविधाहरू रहनेछन् ।
४. होण्डा ० अल्फा ईभी
होन्डाले ‘० अल्फा’ कन्सेप्टमा आधारित आफ्नो पहिलो भारत निर्मित पहिलो इलेक्ट्रीक एसयूभी आगामी २ डिसेम्बरमा सार्वजनिक गर्दैछ । यसको औपचारिक बिक्री भने सन् २०२७ को जनवरीदेखि सुरू हुनेछ ।

० अल्फा उच्च एरोडायनामिक दक्षता र स्विपी बाहिरी बनावटको रहेको छ । यो मिडसाइज एसयूभीको भित्री भागमा फ्ल्याट बटम स्टेयरिङ ह्वील, ट्याब्लेट आकारको टच स्क्रीन र फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहनेछ । यसमा ६५ देखि ७५ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहने छ । जसको टप भेरियन्टले फुलचार्जमा ६५० किलोमिटकोरसम्मको रेन्ज दिनेछ ।

