काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता बीएआईसीले नयाँ एसयूभी सिङतान ५एक्स सार्वजनिक गरेको छ । कम्पनीले हिजो नोभेम्बर १२ मा सिङतान नामबाट नयाँ एसयूभी बजारमा ल्याएको हो ।
कम्पनीले चीनमा यो एसयूभीलाई ब्याट्री इलेक्ट्रीक र प्लगइन हाइब्रिड गरी दुई संस्करणमा उपलब्ध गराएको छ । यसको डिजाइन बेलायती एसयूभी ल्याण्ड रोभर डिफेन्डरसँग मिल्दोजुल्दो देखिन्छ ।
पाँच सिट क्षमताको यो एसयूभीको डिजाइनका कारण चिनियाँ बजारमा यसलाई ‘बजेट डिफेन्डर’ र ‘पिपुल्स डिफेन्डर’ समेत भन्न थालिएको छ । बक्सी बडी डिजाइन, समतल छत र बलियो देखिने बाहिरी बनावटले यसलाई डिफेन्डरको झल्को दिने बनाएको हो ।

सिङतान ५एक्सको प्योर ईभी संस्करणमा रियर माउन्टेड इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले २२७ किलोवाट अर्थात् ३०४ हर्सपावर पिक पावर उत्पादन गर्छ । यसमा ८१.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक दिइएको छ ।
कम्पनीका अनुसार यसले सिंगल चार्जमा सीएलटीसी रेन्ज ६२५ किलोमिटरसम्म दिनेछ । बीएआइसीले नयाँ एसयूभी ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । त्यसैले यसले ठूलो डीसी चार्जर सपोर्ट गर्नेछ । डीसी फास्ट चार्जरबाट ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न केवल १४.५ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ ।
सिङतान ५एक्सको लम्बाइ ४८६५ एमएम, चौडाइ २००० एमएम र उचाइ १९१० एमएम छ । यसमा २८७५ एमएम लामो ह्वीलबेस छ । पछाडि स्पेयर ह्वील राख्ने स्थान दिइएको छ ।
इन्ट्री भेरियन्टको इन्टेरियरमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन र ८.८ इन्चको इन्स्ट्रुमेन्ट डिस्प्ले उपलब्ध छ । टप भेरियन्टमा भने दुईवटा १५.६ इन्चका स्क्रिन र क्वालकम ८२९५पी चिपसेट दिइएको छ ।

यसमा हुवावेले विकास गरेको कियानकुन एडास ५ प्रो एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध छ । २७ वटा सेन्सर प्रयोग गरिएको यस प्रणालीमा सोलिड स्टेट लिडारसमेत समावेश छ ।
नेपाली बजारमा आउने उच्च सम्भावना
बीएआईसीका उत्पादन नेपालमा लक्ष्मी मोटरहबले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हाल नेपाली बजारमा बीजे ३० ई बिक्री गरिरहेको छ ।
चीनमा सार्वजनिक भएको सिङतान ५एक्सको प्योर ईभी संस्करण छिट्टै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने सम्भावना छ । बीएआईसीको नेपालमा आधिकारिक वितरकसमेत रहेकाले छिट्टै यो मोडल नेपाली बजारमा आउन सक्छ ।
बीएआईसीका अनुसार अक्टोबर २१ मा प्रि-सेल सुरु भएयता २३ दिनमा यसले ३० हजार २०८ युनिट बुकिङ प्राप्त गरिसकेको छ । नेपालमा पनि बक्सी डिजाइन एसयूभीको माग उच्च रहेको कारण यसले अलगै पहिचान निर्माण गर्ने अनुमान गर्न सकिन्छ ।

