चीनले बनायो इलेक्ट्रीक जहाज, प्रतिघण्टा ३०० किलोमिटर उड्न सक्ने

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक चीनले बनाएको इलेक्ट्रीक जहाजको सफल परीक्षण उडान भएको छ ।

चीनले आफ्नै प्रविधिमा विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमान सीई-२५एले पहिलोपटक चालक दलसहित सफल परीक्षण उडान गरेको हो ।

यो जहाज कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक), सीएटीएल र सांघाई च्याओतोङ विश्वविद्याल यलगायत संस्थाको संयुक्त प्रयासमा विकास गरिएको हो ।

कोम्याकका अनुसार शनिबार उक्त विमानले पहिलो चालकसहितको उडान पूरा गरेको हो । पूर्वी चीनको शान्दोङ प्रान्तस्थित बिन्झाउमा भएको परीक्षण उडानका क्रममा विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए ।

कोम्याकका अनुसार उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको थियो भने सबै कार्यसम्पादन सूचक अपेक्षा अनुसार रहेका थिए ।

अन्तरसहर हवाई उडान गर्ने उद्देश्यले तयार गरिएको यस विमानमा एकपटकमा १९ जना यात्रु बोक्न सकिन्छ । यसले अधिकतम १० टनसम्म तौल बोकेर उडान भर्न सक्छ ।

यो विमान प्रतिघण्टा ३०० किलोमिटर (क्रुजिङ स्पीड) गतिमा उड्न सक्छ । यसले २ हजार ४०० मिटर उचाइमा उडान गर्न सक्छ भने एकपटकमा अधिकतम ४०० किलोमिटर दूरी पार गर्न सक्छ ।

यसअघि सीई-२५ एले सन् २०२६ को फेब्रुअरी २ मा पहिलोपटक चालकविहीन स्वचालित परीक्षण उडान गरेको थियो । हालसम्म यस विमानले चालकविहीन स्वचालित उडान सम्बन्धी १९ वटा परीक्षण सफलतापूर्वक पूरा गरिसकेको छ ।


Back_to_top