काठमाडौं । नेपाली बजारमा बिक्री हुँदै आएका दुई इलेक्ट्रीक ह्याचब्याक कारको बीचमा तगडा प्रतिस्पर्धा सुरू भएको छ । खासगरी, बीवाइडी एटो वानसँग प्रतिस्पर्धा गर्न आएको प्रोटोन इमास फाइभले कडा चुनौती प्रस्तुत गर्न खोजेको देखिन्छ ।
सन् २०२६ को अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा यी दुई मोडल मिलाएर ७०३ युनिट कार आयात भएको देखिन्छ । त्यसमा बीवाइडी एटो वान ४१० युनिट आयात भएको छ भने प्रोटोन इमास फाइभ २९३ युनिट आयात भएको हो ।
बीवाइडी नेपालमा स्थापित ब्राण्ड बनिसकेको छ । यस्तोमा ईभी मार्फत नेपाली बजारमा स्थापित हुन खोजिरहेको प्रोटोनको लागि इमास फाइभ बलियो मोडल बनेर आएको देखिन्छ ।
मूल्यका हिसाबले पनि यी दुई मोडल नजिकका प्रतिस्पर्धी नै देखिन्छन् । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो वानको डाइनामिक भेरियन्ट ३० लाख ७५ हजार रुपैयाँ र टप भेरियन्ट प्रिमियम ३४ लाख ८० हजार रुपैयाँ बिक्री मूल्य कायम गरेर बिक्री गर्दै आएको छ ।
जगदम्बा मोटर्सले नेपालमा बिक्री गर्ने प्रोटोन इमास फाइभ पनि दुई भेरियन्टमै उपलब्ध छ । यसको प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । यसको टप भेरियन्ट प्रिमियमको बिक्री मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सुरूमा बिक्री थाल्दा भने कम्पनीले प्राइम भेरियन्टको २९ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार तोकेको थियो ।
मूल्यका आधारमा हेर्दा अहिले बीवाइडी एटो वान केही सस्तो देखिन्छ । तर, यी दुई मोडल बीचको प्रतिस्पर्धा मूल्यमा मात्रै सीमित छैन । ब्याट्री, पावर, साइज र फिचरमा दुवैका आ-आफ्नै बलिया पक्ष छन् ।
एटो वानको बलियो पक्ष नै ब्याट्री प्रविधि
बीवाइडीको प्रमुख प्रतिस्पर्धात्मक क्षमता नै ब्याट्री प्रविधि हो । कम्पनीले एटो वानमा पनि आफ्नै ब्लेड ब्याट्री प्रविधि प्रयोग गरेको छ । यो मोडल ३० किलोवाट आवर र ३८.८८ किलोवाट आवरका दुई ब्याट्री विकल्प पाइन्छ ।
डब्लूएलटीपी परीक्षण अनुसार सानो ब्याट्रीले एकपटकको फुलचार्जमा २३० किलोमिटर र ठूलो ब्याट्रीले ३०० किलोमिटरसम्म रेन्ज दिनेछ ।
स्पोर्टी डिजाइन र कम्प्याक्ट आकार एटो वानका थप आकर्षण हुन् । सहरी ट्राफिकमा चलाउन र साँघुरो पार्किङमा गाडी राख्न सहज हुनु यसको बलियो व्यवहारिक पक्ष हो ।
यसमा भोइस कन्ट्रोल, वायरलेस सफ्टवेयर अपडेट, टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर उपलब्ध छन् ।
इमास फाइभको बलियो पक्ष साइज र पावर
प्रोटोन इमास फाइभ दुई मोटर विकल्पमा उपलब्ध छ । प्राइम भेरियन्टमा ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट आवरको एलएफपी ब्याट्री छ । डब्लूएलटीपी परीक्षण अनुसार यसको रेन्ज २२५ किलोमिटर पाइन्छ ।
त्यस्तै, प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । यो भेरियन्टले एकपटकको फुलचार्जमा ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।
यसको अर्को विशेषता रियर ह्वील ड्राइभ प्रणाली हो । नेपालमा उपलब्ध अधिकांश कम्प्याक्ट ह्याचब्याक फ्रन्ट ह्वील ड्राइभमा आधारित रहेका बेला इमास फाइभको रियर ह्वील ड्राइभ सेटअपले फरक ड्राइभिङ अनुभव प्रदान गर्न सक्छ ।
फिचरमा इमास फाइभको अग्रता
फिचरका हिसाबले प्रोटोन इमास फाइभ एटो वानभन्दा एक कदम अगाडि देखिन्छ । यसमा १४.६ इन्चको एफएचडी इन्फोटेनमेन्ट टचस्क्रीन र ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

साथै, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, प्रिमियम लेदर सिट, प्यानोरामिक भ्यू, पछाडिका यात्रुका लागि एसी भेन्ट, मोबाइल चार्जिङ पोर्ट र ६ वटा स्पिकर यसको बलियो पक्ष हो ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र विभिन्न एडास प्रविधि छन् । अटोनोमस इमर्जेन्सी ब्रेकिङ, फरवार्ड कोलिजन वार्निङ, अडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइण्ड स्पट डिटेक्सन, लेन डिपार्चर वार्निङ र रियर क्रस ट्राफिक अलर्टजस्ता फिचरले इमास फाइभको सुरक्षा प्याकेजलाई थप प्रभावकारी बनाएको देखिन्छ ।
अर्कोतर्फ, बीवाइडीले एटो वानलाई अत्यधिक फिचर थपेर भन्दा पनि आवश्यक सुविधामा केन्द्रित युजर फ्रेण्डली मोडलका रूपमा तयार गरेको देखिन्छ । यसमा ३६० डिग्री क्यामेरा समेत उपलब्ध छैन । तर, स्पोर्टी डिजाइन र सहज प्रयोगमा केन्द्रित यसको बनोट आफैंमा आकर्षणको विषय हो ।

