हुन्डाई बायोनले तान्यो ग्राहक, यस्तो छ पहिलो महिनाको बिक्री तथ्यांक

काठमाडौं । कोरियाली अटोमोबाइल उत्पादन हुन्डाईको नयाँ मिडसाइज एसयूभी बायोनमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।

कम्पनीले भारतीय बजारमा १ महिनामै साढे ३ हजार युनिट बायोन बिक्री गरेको हो । कम्पनीले बायोनकाे गत सेप्टेम्बर २३ देखि बुकिङ खुलाएको थियो भने अक्टोबर २६ मा बिक्री सुरू गरेको थियो । यद्यपि, कम्पनीले हालसम्म कति बुकिङ भएको छ भन्ने खुलाएको छैन ।

हुन्डाईले भारतमा अक्टोबर महिनामा ३ हजार ४४९ युनिट बायोन कारखानाबाट बिक्रीका लागि पठाएको छ । जुन हुन्डाईको अक्टोबरको कुल प्यासेन्जर कारको थोक बिक्रीको ५ प्रतिशत हो । बायोनले एसयूभी सेग्मेन्टमा कुल बिक्रीको ८ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

हुन्डाईले बायोन एसयूभीलाई आफ्नो लाइनअपमा भेन्यू र क्रेटाको बीचमा राखेर बजारमा ल्याएको हो । बायोनको डिजाइन आकर्षक र बोल्ड छ । यसमा आकर्षक बोनेट, स्प्लीट हेडल्याम्प र पातला एलईडी डीआरएल दिइएको छ । अगाडिको भागमा दिइएको अंग्रेजी अक्षर ‘एच’ आकारको लाइट डिजाइनले यसलाई फरक पहिचान दिएको छ ।

साइड प्रोफाइलमा बाक्लो बडी क्ल्याडिङ, बाहिरतिर फैलिएका ह्वील आर्च र आकर्षक अलोय ह्वील छन् । पछाडिको भागमा पातला टेललाइट, रूफ स्पोइलर र टेलगेटमा बायोन लेखिएको छ ।

हुन्डाई बायोनको लम्बाइ ४,२४५ एमएम, चौडाइ १,८१० एमएम र उचाइ १,६०५ एमएम छ । २,६०० एमएम लामो ह्वीलबेस रहेको बायोनमा २०५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा ५०५ लिटरको बुट स्पेस र ४३ लिटरको फ्युल ट्यांक छ ।

हुन्डाई बायोनमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड फोर सिलिण्डर पेट्रोल इन्जिन छ । जसले अधिकतम शक्ति ११५ पीएस तथा १४४ एनएम टर्क प्रदान गर्छ । यसमा ६–स्पीड म्यानुअल र आईभीटी गियरबक्स विकल्प उपलब्ध छ । युरोपियन बजारमा उपलब्ध बायोनमा भने १.० लिटर टी–जीडीआई पेट्रोल इन्जिन छ ।

बायोनमा आराम र सुविधालाई ध्यानमा राखेर विभिन्न प्रिमियम फिचर उपलब्ध छन् । यसमा अगाडिका भेन्टिलेटेड सिट, पानोरामिक सनरुफ, विद्युतीय रूपमा मिलाउन सकिने चालकको सिट, वायरलेस फोन चार्जिङ र बोस प्रिमियम अडियो सिस्टम उपलब्ध छ ।

यसको क्याबिनमा १२.३ इन्चका डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट स्क्रीन छन् । यसमा जेनेरेटिभ एआई भ्वाइस असिस्टेन्ट सिस्टम छ । यसले प्रप्लेक्सिटी र साउण्ड हाउण्ड एआईको प्रविधिलाई संयोजन गर्छ । यो प्रणालीले अंग्रेजी, हिन्दी, हिङ्लिश, तमिल, तेलुगु र बंगाली भाषामा ५०० भन्दा बढी भ्वाइस कमाण्डहरू सपोर्ट गर्छ । केही कमाण्डहरू इन्टरनेट कनेक्सनबिना पनि चल्छन् ।

बायोनमा हुन्डाई ब्लुलिंक कनेक्टेड कार प्रविधि उपलब्ध छ । जसले ७० भन्दा बढी कनेक्टेड सुविधाहरू प्रदान गर्छ । यसले १९ वटा इलेक्ट्रोनिक कन्ट्रोलरहरूका लागि ओभर द एयर सफ्टवेयर अपडेटहरू पनि सपोर्ट गर्छ ।

हुन्डाईका अनुसार बायोनमा ३५ भन्दा बढी स्ट्याण्डर्डसहित ८५ बढी सेफ्टी फिचर छन् । यसमा २३ सुविधा भएको लेभल २ प्रो एडाससहित ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड सहित, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिल स्टार्ट असिस्ट लगायत सुरक्षा फिचर छन् ।

चाँडै नेपाल आउने

हुन्डाई बायोन चाँडै नेपाली बजारमा पनि उपलब्ध हुनेछ । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विकल्पको रूपमा बायोन ल्याउने भएको हो ।

कम्पनीले बायोन नेपालमा कहिलेसम्म आइपुग्छ भन्ने आधिकारिक जानकारी दिएको छैन । तर, केही महिना भित्रै उपलब्ध हुने सम्भावना छ ।


Back_to_top