साउन, भदौ र असोजमा कुन ब्राण्डले ल्यायो धेरै कार ?

काठमाडौं । नेपालको अटोमोबाइल बजार निकै तातेको देखियो । नयाँ सरकार बनेपछिको पहिलो चाडपर्वको सिजनमा अहिलेसम्मकै रेकर्ड कारहरू आयात भएको देखियो ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो ३ महिनामा ६ हजार ४८८ युनिट विद्युतीय कार मात्रै आयात भएको देखिन्छ । यस अवधिमा विगतको दुई वर्षमा जस्तै सबैभन्दा धेरै ईभी बीवाइडीले नेपाल ल्याएको देखियो ।

बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ३ महिनाको अवधिमा १ हजार ७४५ युनिट ईभी ल्याएको हो । कम्पनीको आयातमा एटो २, एटो १ र एटो ३ को भूमिका सबैभन्दा धेरै देखिन्छ ।

दोस्रो स्थानमा डोङफेङ नामी ब्राण्ड परेको छ । मूल्य घटेसँगै नामी भिगोमा उपभोक्ता खास रुची देखियो । त्यही रुची अनुसार कम्पनीले चाडपर्वको समयमा नै १ हजार १८२ युनिट विद्युतीय कार नेपाल ल्याएको हो ।

तेस्रो स्थानमा भारतीय ब्राण्ड टाटाको गाडी परेको छ । टाटा टियागो र टाटा पन्चको फेसलिफ्ट आएसँगै टाटाका ईभीको बजारमा माग उच्च बनेको थियो । त्यसैले कम्पनीले साउन, भदौ र असोज महिनामा १ हजार १५१ युनिट ईभी नेपाल ल्याएर बिक्री गर्न सफल भयो ।

चौथो स्थानमा हुन्डाई रहेको छ । दक्षिण कोरियाली ब्राण्ड हुन्डाईको बिक्रीमा सबैभन्दा धेरै पेट्रोल कारको हिस्सा देखिन्छ । हुन्डाईले ९३५ युनिट कार आयात गर्दा ईभी केबल ७५ युनिट मात्रै छ ।

पाँचौं स्थानमा चेरीका उत्पादन पर्न सफल भएका छन् । चेरीका ओमोडा, जेको आइकार र क्यूगरी ६६१ युनिट आयात भएको देखिन्छ । चेरीले पनि अघिल्लो वर्षको तुलनामा निकै व्यापार बढाउन सफल भएको देखिन्छ ।

छैटौं स्थानमा किया ब्राण्ड देखिएको छ । कियाले साउनदेखि असोज मसान्तसम्ममा ४५४ युनिट गाडी आयात गरेको छ ।

सातौं स्थानमा चांगानका विद्युतीय गाडी परेका छन् । यो ३ महिनाको अवधिमा दीपल र नेभो ब्राण्डका ३९३ युनिट कार आयात भएका छन् । आठौं स्थानमा मारुती सुजुकी छ । सीजी मोटोकर्पले सुजुकीका ३७६ युनिट कार आयात गरेको देखिन्छ ।

नवौं स्थानमा एमजी परेको छ । पारामाउन्ट मोटर्सले २६९ युनिट कार आयात गर्दा दशौं स्थानमा रहेको प्रोटोनले २३० युनिट विद्युतीय कार आयात गरेको देखिन्छ ।

माथि चर्चा भएका बाहेक अन्य ब्राण्डले १ हजार ९९ युनिट कार आयात गरेका छन् । जसमा महिन्द्रा, लिपमोटर, एक्सपेङ, जीएसी आयोन, जेएमसी, जेएसडब्लू एमजी इन्डिया, केई, आर्कफक्स, बीएआईसी, स्काइवेल लगायतका ब्राण्डले धेरै गाडी आयात गरेका छन् ।


Back_to_top