एक महिनाभित्र यामाहा एमटी १५ किन्न पाइने, यस्तो छ मूल्य

काठमाडौं । यामाहा एमटी १५ मोटरसाइकल नेपाली बजारमा परिक्षण सुरु भएको निकै समय भइसकेको छ । एमएडब्लू इन्टरप्राइजेजले असारमा सार्वजनिक गर्ने लक्ष्यका साथ परिक्षण सुरु गरेको भएपनि विभिन्न कारणले मोटरसाइकल असारमा सार्वजनिक हुन सकेको थिएन । 

परिक्षण सकेपछि सार्वजनिक गर्ने भन्दै कम्पनीले हालसम्म मिति भने तय नभएको जनाएको छ । करिब ४ महिना अगाडि भारतीय बजारमा सार्वजनिक भएको यो बाइकलाई नेपाली उपभोक्ताले निकै प्रतिक्षा गरिरहेका छन् । 

नयाँ यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ जुन एमटी ०९ बाट प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ । 

नयाँ एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । 

यामाहाले केही महिनाअघि सार्वजनिक गरेको आर–१५ भी–३ मा पनि भीभीए सिस्टम छ । यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । 

आर–१५ भी–३ कै इन्जिन यसमा राखिएको छ, जसले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । 

नयाँ एमटी–१५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने वजन (फुल ट्यांक पेट्रोलसहित) १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ । 

त्यसैगरी, पछाडिको पांग्राबाट आउने ड्राइभ फोर्स च्यासिसमा पर्छ जसले बाइकलाई भर्टिकल्ली, होरिजेन्टल्ली र टर्सनल्ली रिजिड बनाइदिन्छ । 

डार्क थिमसहितको आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । नेपालमा यसको मूल्य आर–१५ भी–३ भन्दा थोरै बढी हुने अनुमान गरिएको छ । याहामा एमटी १५ को मूल्य करिब ४ लाख ४५ हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

अब यामाहा एमटी १५ ढिलोमा अटो शोमा सार्वजनिक हुनेछ । नाडा अटो शो २०१९ आगामी भदौ १० गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । उक्त अटो शोबाट एमटी १५ को आधिकारीक बिक्री समेत सुरु हुनेछ । 


Back_to_top