नक्सालमा खुल्यो टीभीएसको प्रिमियम शोरुम, बाढी प्रभावितलाई दियो २५ मोटरसाइकल

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो उपस्थिति थप विस्तार गर्दै काठमाडौंको नक्सालमा पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ ।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यापार प्रमुख अनुभव बल र नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका हुन् ।

जगदम्बाले सञ्चालनमा ल्याएको यो शोरुमले नेपालमा टीभीएसका प्रिमियम मोटरसाइकल तथा विद्युतीय सवारीसाधनको बिक्री र ब्राण्ड अनुभवलाई थप विस्तार गर्ने कम्पनीको विश्वास छ ।

शोरुम उद्घाटन कार्यक्रमकै अवसरमा टीभीएस मोटर कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न सरकारी तथा सामुदायिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।

कम्पनीले नुवाकोट र रसुवाका जिल्ला प्रहरी कार्यालय, नुवाकोटको केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, सरकारी विद्यालय तथा रसुवाका विभिन्न गाउँपालिका, विद्यालय र अस्पताललाई मोटरसाइकल हस्तान्तरण गरेको हो ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष पेयमान कार्गरले नेपाल कम्पनीको अन्तर्राष्ट्रिय विस्तार यात्राका लागि महत्त्वपूर्ण बजार रहेको बताए ।

उनले नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम सञ्चालनमा आउनु बजारप्रतिको निरन्तर लगानी र ग्राहकको बदलिँदो आवश्यकतालाई सम्बोधन गर्ने प्रयास भएको उल्लेख गरे । कम्पनीको जिम्मेवारी सवारीसाधन बिक्रीमा मात्र सीमित नभई आफूले सेवा दिने समुदायमा सकारात्मक प्रभाव सिर्जना गर्नु पनि रहेको उनको भनाइ थियो ।

कार्गरले २५ वटा मोटरसाइकल हस्तान्तरणले स्थानीय संस्थाहरूलाई थप नागरिकसम्म पुगेर सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टीभीएसको नयाँ प्रिमियम तथा ईभी शोरुममा कम्पनीका विभिन्न प्रिमियम मोटरसाइकल र विद्युतीय स्कुटर उपलब्ध हुनेछन् । शोरुममा टीभीएस अपाचे आरटीआर २०० फोरभी, अपाचे आरटीआर १६० फोरभी, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्युब र टीभीएस अर्बिटर राखिने कम्पनीले जनाएको छ ।

टीभीएस मोटर कम्पनी विश्वका ९० भन्दा बढी देशमा उपस्थित रहेको दुई तथा तीनपाङ्ग्रे सवारीसाधन निर्माता कम्पनी हो। दुई तथा तीनपाङ्ग्रे सवारीसाधन क्षेत्रमा विश्वकै प्रमुख उत्पादकमध्ये एक रहेको कम्पनीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्दै आएको छ।

नेपालमा विगत १५ वर्षदेखि जगदम्बा मोटर्सले टीभीएसका सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ । बिक्रीपछिको सेवा, ग्राहक सम्पर्क र स्थानीय समुदायसँग जोडिएका कार्यक्रममार्फत नेपाली बजारमा टीभीएसको उपस्थिति थप मजबुत बनाउने प्रयास भइरहेको कम्पनीले जनाएको छ ।


Back_to_top