काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक (साउन-कात्तिक)मा विद्युतीय प्यासेन्जर कार (ईभी) आयातमा दुई ब्राण्ड बीच कडा टक्कर देखिएको छ ।
चालु आवको ४ महिनाको तथ्यांक अनुसार नेपालको ईभी बजारमा ‘लिडर’ रहेको बीवाइडी र २ वर्षअघि मात्रै नेपाल आएको डोङफेङले बीच तीव्र प्रतिस्पर्धा देखिएको हो ।
४ महिनाको अवधिमा बीवाइडीका कुल २ हजार ९७ युनिट ईभी नेपाल भित्रिएका छन् । नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्क इंकले उक्त संख्यामा ईभी आयात गरेको हो । बीवाइडीको कुल बजार हिस्सा २३.७ प्रतिशत रहेको छ ।
कम्पनीले एटो १, एटो २, एटो ३, सिलायन सेभेन लगायत मोडल आयात गरेको हो । जसमा एटो २ सबैभन्दा धेरै १५०४ युनिट ल्याएको छ ।
सोही अवधिमा एमएडब्लू वृद्धिले डोङफेङ ब्राण्डका १७३४ युनिट ईभी आयात गरेको छ । जुन बीवाइडीकोभन्दा ३६४ युनिट मात्रै कम हो । समीक्षा अवधिमा डोङफेङको बजार हिस्सा १९.६ प्रतिशत रहेको छ ।
डोङफेङको नामी भिगो सबैभन्दा धेरै १४५६ युनिट आयात भएको छ । एमएडब्लूले बजेटपछि भिगोको मूल्य समायोजन गरेर ३८ लाख रुपैयाँमा झारेसँगै यसको बजार माग उच्च रहेको छ । सोही कारण ४ महिनामै झण्डै साढे १ हजार युनिट भिगो भित्रिन सफल भएको छ ।
डोङफेङ आक्रमक भएसँगै टाटा भने तेस्रो स्थानमा झरेको छ । सिप्रदी ट्रेडिङले ४ महिनामा टाटाका कुल १४४४ युनिट ईभी आयात गरेको छ । टाटाका पन्च, टियागो, नेक्सन, कर्भ, सिएरा, एक्सप्रेस टी (ट्याक्सी) लगायत मोडल आयात भएका हुन् ।
चौथो धेरै चिनियाँ ब्राण्ड चेरीका ईभी भित्रिएका छन् । एसपीजी अटोमोबाइल्सले ४ महिनामा १ हजार ४८ युनिट ईभी ल्याएको हो । कम्पनीले ओमोडा ई ५, जेको जे ६, जेको जे ५, चेरी क्यू लगायत मोडल भित्र्याएको हो ।
समीक्षा अवधिमा २ दर्जन बढी ब्राण्डका ईभी भित्रिए पनि बीवाइडी, डोङफेङ, टाटा र चेरी बाहेक अन्य ब्राण्डको आयात भने १ हजार युनिटभन्दा कम छ ।
पाँचौंमा चांगानका ईभी आयात भएका छन् । एमएडब्लू वृद्धिले कुुल ५७६ युनिट चांगान ब्राण्डका ईभी भित्र्याएको छ ।
त्यस्तै, छैटौंमा मलेसिय ब्राण्ड इमासका ३६२ युनिट ईभी भित्रिएका छन् । जगदम्बा मोटर्सले प्रोटोन इमास ५ र इमास ७ गरी उक्त संख्यामा ल्याएको हो ।
सातौंमा एमजी ब्राण्ड रहेको । पारामाउन्ट मोटर्सले चीनमा उत्पादन भएका ३३५ युनिट एमजीका ईभी भित्र्याएका हो । कम्पनीले एमजी एस ५, एस ६, आइएम सिक्स लगायत मोडल भित्र्याएको हो ।
त्यसैगरी, लिपमोटर २०४ युनिट, किया १९९ युनिट र एमजी (भारतमा उत्पादन भएका) १६१ युनिटसहित क्रमशः शिर्ष १० मा रहेका छन् ।
चालु आवको ४ महिनामा कुल ८ हजार ८५२ युनिट प्यासेन्जर विद्युतीय कार आयात भएका छन् । शीर्ष १० ब्राण्ड बाहेक अरु सबै ब्राण्डले केबल ६९२ युनिट मात्रै ल्याउन सकेका छन् ।

