काठमाडौं । विश्व अटोमोबाइल बजारमा चिनियाँ कारको प्रभाव बढ्दै गएको छ । विश्वभर विद्युतीय सवारीको बढ्दो बिक्रीसँगै चिनियाँ कार निर्माताले आफ्नो पकड जमाउँदै लगेका हुन् ।
जापानी संचारमाध्यम निक्केई एसियाको एक रिपोर्ट अनुसार अनुसार विश्वका ३९ देशमा बजार हिस्साका आधारमा चिनियाँ ब्राण्डले जापानी ब्राण्डलाई पछि पार्न सफल भएका हुन् ।
विश्वका १५० देश तथा क्षेत्रमा सवारी उत्पादक कम्पनी अनुसारको बिक्री विवरण उपलब्ध रहेकोमा तीमध्ये ९३ देशको बजार हिस्साको अध्ययन गरिएको थियो । ती मध्ये ३९ देशमा चिनियाँ कारको बजार हिस्सा जापानी कारकोभन्दा धेरै पाइएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा विद्युतीय सवारीके बिक्री बढेसँगै चिनियाँ कारको वर्चश्व पनि विस्तार हुँदै गएको हो । ईभी उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बलियो बनाएका चिनियाँ ब्राण्डले यसको प्रत्यक्ष लाभ उठाउँदै जापानी ब्राण्डको बजार हिस्सा खोसिरहेका हुन् ।
चिनियाँ कारले जापानी ब्राण्डलाई उछिनेका ३९ देशमध्ये १४ देशमा यसै वर्ष बजारको अवस्था परिवर्तन भएको हो । दक्षिण कोरिया, जर्मनी, इटाली र ब्राजिल लगायत देशमा यही वर्ष चिनियाा ब्राण्डले जापानीलाई पछि पारको हुन् ।
युरोपको सबैभन्दा ठूलो अटोमोबाइल बजार जर्मनीमा चिनियाँ कारको बजार हिस्सा गत वर्षको सोही अवधिको तुलनामा २ प्रतिशत बिन्दुले बढेर ६ प्रतिशत पुगेको छ । यसै अवधिमा जापानी कारको बजार हिस्सा भने १ प्रतिशत बिन्दुले घटेर ५ प्रतिशतमा झरेको छ ।
त्यस्तै, इटालीमा चिनियाँ कारको बजार हिस्सा १२ प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बिन्दुले बढी हो । यस वृद्धिमा चिनियाँ विद्युतीय सवारी स्टार्टअप कम्पनी लिपमोटरको महत्वपूर्ण योगदान रहेको अध्ययनले देखाएको छ । सोही अवधिमा इटालीमा लिपमोटरका विद्युतीय सवारीको बिक्री ११ गुणाले बढेको थियो ।
दक्षिण अमेरिकाको ब्राजिलमा चिनियाँ कारको बजार हिस्सा १९ प्रतिशत पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बिन्दुले बढी हो । बीवाइडीले गत वर्षदेखि ब्राजिलमा स्थानीय उत्पादन सुरू गरेसँगै बजार हिस्सा पनि वृद्धि भएको हो ।
बलियो बजारमै हिस्सा घट्दै
जापानी अटोमोबाइल कम्पनीहरूको परम्परागत रूपमा बलियो बजार मानिने दक्षिणपूर्वी एसियामा समेत उनीहरूको बजार हिस्सा घट्न थालेको छ ।
दक्षिणपूर्वी एसियाली बजारमा जापानी कारको हिस्सा ६ प्रतिशत बिन्दुले घटेर ५४ प्रतिशतमा झरेको छ । यसको विपरीत चिनियाँ कारको बजार हिस्सा ७ प्रतिशत बिन्दुले बढेर १८ प्रतिशत पुगेको छ ।
चिनियाँ कम्पनीहरूले यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय उत्पादन केन्द्र विस्तार गरिरहेका छन् । यसैक्रममा बीवाइडीले गत सेप्टेम्बरमा इन्डोनेसियामा वार्षिक १ लाख ५० हजार सवारी उत्पादन क्षमता भएको कारखानाबाट उत्पादन सुरू गरेको छ ।
निक्केईका अनुसार अध्ययनमा समेटिएका बाँकी ५४ देशमा भने जापानी कम्पनीहरू अझै पनि बजार हिस्साका आधारमा चिनियाँ कम्पनीभन्दा अगाडि छन् । तर, अमेरिका र भारतजस्ता चिनियाँ कम्पनीहरूलाई प्रवेश गर्न कठिनाइ भएका बजारबाहेक अन्य देशमा जापानी कम्पनीहरूको बजार हिस्सा क्रमशः खुम्चिँदै गएको छ ।
जापानी ब्राण्डलाई चुनौती बढ्दै
चिनियाँ कम्पनीहरूको बढ्दो उपस्थितिले जापानी अटोमोबाइल उद्योगको भविष्यमा समेत चुनौती थपेको छ । नयाँ सवारीको बिक्री घट्दा उत्पादक कम्पनीका कारखानाको उत्पादन क्षमता उपयोग दर कम हुन्छ । यसले उत्पादन लागत र नाफामा प्रत्यक्ष असर पार्छ । साथै, सवारी किस्ताबन्दी तथा लिजमा उपलब्ध गराउने वित्तीय सेवा र प्रतिस्थापन पार्टपुर्जाको बिक्रीबाट प्राप्त हुने आम्दानीसमेत घट्न सक्छ ।
जापानी कम्पनीहरूको बजार हिस्सा निरन्तर घट्दै गएमा सवारी उत्पादनमा निर्भर समग्र औद्योगिक संरचना नै कमजोर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । यसको असर सवारी उत्पादक कम्पनीमा मात्र सीमित नभई कच्चा पदार्थ तथा पार्टपुर्जा उत्पादन र आपूर्ति गर्ने उद्योगसम्म पुग्न सक्ने निक्केईको विश्लेषण छ ।
यसले विश्व अटोमोबाइल बजारमा ईभीको विस्तारसँगै प्रतिस्पर्धाको केन्द्र पनि परिवर्तन भइरहेको संकेत गरेको छ । परम्परागत रूपमा विश्व बजारमा बलियो उपस्थिति बनाएका जापानी कम्पनीहरूलाई अब चिनियाँ ईभी उत्पादकसँग प्रतिस्पर्धा गर्न थप चुनौतीपूर्ण हुने देखिन्छ ।

