टोयोटाको नयाँ सुपरकारमा ट्विन टर्बो भी८ हाइब्रिड इन्जिन

काठमाडौं । टोयोटाले नयाँ फ्ल्यागसिप स्पोट्र्स कार ‘जीआर जीटी’ सार्वजनिक गरेको छ । गाजु रेसिङ (जीआर) ब्राण्डअन्तर्गत विकास गरिएको यो सुपरकारमा ट्विन टर्बोचाज्र्ड भी८ इन्जिनसँगै हाइब्रिड टेक्नोलोजी प्रयोग भएको हो ।

जापानी निर्माताका अनुसरा नयाँ स्पोट्र्स कार उच्च प्रदर्शन क्षमता भएको नयाँ पुस्ताको सुपरकारका रूपमा विकास गरिएको हो । नयाँ कारसँगै टोयोटाले यसको रेसिङ संस्करण जीआर जीटी३ को प्रोटोटाइप पनि देखाएको छ ।

जीआर जीटी सडकमा चलाउन मिल्ने उच्च प्रदर्शनको स्पोट्र्स कार हो भने जीआर जीटी३ लाई अन्तर्राष्ट्रिय जीटी३ रेसिङ प्रतियोगिताका लागि तयार पार्न लागिएको हो ।

नयाँ जीआर जीटी र जीआर जीटी३ दुवै गाडी पूर्ण रूपमा नयाँ अल्मुनियम प्लेटफर्ममा आधारित छन् । यही प्लेटफर्ममा लेक्ससको नयाँ पुस्ताको एलएफए पनि विकास भइरहेको छ ।

जीआर जीटीको सबैभन्दा आकर्षक पक्ष यसको इन्जिन हो । यसमा ४.० लिटर क्षमताको ट्विन टर्बोचाज्र्ड भी८ पेट्रोल इन्जिन प्रयोग भएको छ । यसले ६४१ हर्सपावर प्रदान गर्छ । दुईवटा टर्बोचार्जर भएको कारण यसको पावर धेरै भएको हो ।

टोयोटाले यो इन्जिनमा ‘ड्राइ सम्प टेक्नोलोजी’ प्रयोग गरेको छ । यो प्रविधिले इन्जिनको लुब्रिकेसन प्रणालीलाई फरक तरिकाले व्यवस्थापन गर्छ । फलस्वरूप इन्जिनलाई गाडीको चेसिसमा अझ तल राख्न सकिन्छ । इन्जिन तल राख्दा गाडीको गुरुत्वकेन्द्र कम हुन्छ, जसले तीव्र गतिमा मोड काट्दा स्थिरता र नियन्त्रण गर्न सहज हुन्छ ।

जीआर जीटीमा भी८ इन्जिनसँगै एउटा इलेक्ट्रीक मोटर पनि जडान गरिएको छ । यसमा ८ स्पिडको अटोमेटिक ट्रान्सएक्सल गियरबक्स प्रयोग गरिएको छ । इलेक्ट्रिक मोटर पनि यही गियरबक्स क्षेत्रमा जडान गरिएको छ । यसले पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटरको शक्तिलाई एकीकृत गरी गाडीको प्रदर्शन उच्च बनाउने छ ।


Back_to_top