काठमाडौं । चिनियाँ कारहरूले एकपछि अर्को देशमा जापानी उत्पादनलाई पछाडि पारेसँगै जापानी अटो उद्योगमा हलचल पैदा भएको छ ।
जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले नै चिनियाँ करको कम मूल्यसँग प्रतिस्पर्धा गर्न रणनीति निर्माण गरिरहेको समाचारहरू आएका छन् । जापानलाई सन् २०२५ मै चिनियाँ कार निर्माताहरूले उछिनेका थिए ।
विश्व कार बजारमा वार्षिक ९ करोड हाराहारी कार बिक्री हुने गरेको छ । जसमा चीन एक्लैको जडित उत्पादन क्षमता ६ करोड पुगेको छ । न्यू इनर्जी भेहिकलको बिक्री बढेसँगै चिनियाँ उत्पादक निकै अगाडि बढेका हुन् ।
निर्यातमा चीनको दबदबा बढ्दै जाँदा जापानका प्रमुख तीन कार निर्माता कम्पनी टोयोटा, होन्डा र निसानले गाडी उत्पादनमा प्रयोग हुने केही पार्टपुर्जाको मापदण्ड एउटै बनाउन लागेका हुन् ।
उत्पादन लागत घटाउने, सप्लाई चेनलाई सहज बनाउने र उत्पादन प्रक्रियालाई प्रभावकारी बनाउन यी ३ जापानी उत्पादक बीच सहकार्य हुन लागेको हो ।
जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनका अध्यक्ष कोजी सातोले सार्वजनिक गरेको कार्ययोजना अनुसार पहिलो चरणमा स्टिल, प्लास्टिक तथा रेजिन र विद्युतीय वायरिङ हार्नेस एउटै बनाउने उल्लेख छ ।
यस योजनाअन्तर्गत पार्टपुर्जाको गुणस्तर, प्राविधिक स्पेसिफिकेसन र रङ संकेत प्रणालीमा समानता ल्याइनेछ । यसले एउटै प्रकारका पार्टपुर्जा उत्पादन तथा जडान गर्न सहज बनाउनुका साथै उत्पादन प्रक्रियामा हुने जटिलता घटाउने अपेक्षा गरिएको छ ।
गाडीमा प्रयोग हुने यी पार्टपुर्जा ग्राहकले बाहिरबाट प्रत्यक्ष देख्दैनन् । तर, गाडीको कुल उत्पादन लागतमा यिनको महत्वपूर्ण भूमिका हुन्छ । एउटै मापदण्ड अपनाउँदा कम्पनीहरूले सप्लायरसँग पार्टपुर्जा खरिद गर्दा लागत घटाउन र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन सक्नेछन् ।
यो सहकार्यले टोयोटा, होन्डा र निसानका गाडीको छुट्टाछुट्टै डिजाइन तथा ब्राण्ड पहिचानमा भने असर गर्ने छैन । यो प्रस्ताव कार्यान्वयनमा ल्याउन पहिलो चरणमा जापानी अटोमोबाइल पार्टपुर्जा उत्पादक तथा सप्लायरसँग छलफल गर्न लागिएको छ ।
चिनियाँ अटोमोबाइल कम्पनीहरू विशेषगरी बीवाइडी, जिली, चेरी, एसएआइसी जस्ता कम्पनीले प्रतिस्पर्धी मूल्य, छिटो नयाँ मोडल विकास र आधुनिक प्रविधिमार्फत विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको समयमा जापानी उत्पादकहरु एक भएर अगाडि बढ्न लागेका हुन् ।

