भोटेकोशी बाढीमा ४०९ सार्वजनिक सवारीमा क्षति, भन्सार छुट दिन सिफारिस

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ४०९ वटा सर्वाजनिक सवारी साधनमा क्षति पुर्याएको छ ।

यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा भदौ २६ गते गठित १३ सदस्यीय मूल्यांकन समितिको प्रतिवेदन अनुसार ४०९ सार्वजनिक सवारी क्षति पुगेको पाइएको हो ।

भोटेकोशी बाढीबाट प्रभावित यातायात क्षेत्रका, श्रमिक तथा पीडित परिवारको राहत, क्षतिपूर्ति, सामाजिक सुरक्षा र पुनस्र्थापनाका विषय समेटिएको क्षति मूल्यांकन प्रतिवेदन समितिले बिहीबार भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल समक्ष पेश गरेको हो ।

प्रतिवेदन अनुसार बाढीले कन्टेनर ३११, बस ३९, ट्रक ३३ ट्रिपर ९, मिनी तथा माइक्रोबस ९, पर्यटकीय चारपाँग्रे ३, सार्वजनिक जिपरभ्यानरसुमो ३, ट्रेलर १ र मोटरसाइकल १ मा क्षति पुगेको हो ।

कुल ४०९ सवारीमध्ये ३८४ वटामा १ अर्ब ४० करोड ७३ लाख ७७ हजार ८७५ रुपैयाँ बराबरको क्षति पुगेको छ । बाँकी २५ सवारीको क्षति विवरण खुलेको छैन ।

त्यस्तै, बाढी सार्वजनिक यातायात क्षेत्रतर्फ कुल ७८२ मानवीय क्षति भएको छ । जसमा चालक ५३२, सहचालक १११, यात्रु १०६ र यातायात व्यवसायी ३३ जना छन् । तीमध्ये बेपत्ता ६७६, मृत्यु ३९, नखुलेको ६४ र घाइते ३ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

समितिले बाढीमा क्षति पुगेका सवारीसाधनको सट्टा नयाँ आयातमा एकपटकका लागि भन्सार र अन्तःशुल्क छुट, वार्षिक सवारी कर, जरिवाना लगायत छुट, बीमामा सहजीकरण, सहुलियतपूर्ण कर्जा दिन सिफारिस गरेको छ ।

समितिले बाढीका कारण विस्थापित व्यवसायीले पुनः व्यवसाय संचालन गर्न चाहेमा सहुलियतपूर्ण पुनर्कर्जा उपलब्ध गराउन, बैंक तथा वित्तीय संस्थाको अकर्जा असुली स्थगन गर्न, कर्जाको पुनर्तालिकीकरणको व्यवस्था मिलाउन सिफारिस गरेको छ ।

त्यस्तै, बाढीका कारण क्षतिग्रस्त सवारीसाधनको आर्थिक वर्ष २०८३/८४ को सवारी कर, रुट परमिट दस्तुर, जाँचपास शुल्क, विलम्ब शुल्क र सवारी दर्ता खारेजी लगायत शुल्क मिनाहा गर्न सिफारिस गरिएको छ ।

बाढीमा बगेर बेपत्ता भएका सवारीको भौतिक अवेशष नभेटिए पनि प्रहरी मुचुल्का, यातायात कार्यालयको दर्ता, रोक्का प्रमाण र स्थानीय तहको सिफारिसका आधारमा बीमा दाबी भुक्तानी गर्नका लागि बीमा कम्पनीलाई निर्देशन दिन सिफारिस गरेको छ ।


Back_to_top