काठमाडौं । ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन गुडाइएका सरकारी सवारी नियन्त्रणमा लिई कारबाही गर्न थालेको छ । शनिबार मात्रै ४३ वटा सरकारी नम्बर प्लेटका सवारी अनुमती विना विदामा सञ्चालन भएको पाइएको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाका अनुसार चालु आर्थिक वर्ष भित्र ७७ वटा सवारीलाई कारवाही गरिएको छ । नियम अनुसार सार्वजनिक विदाको दिनमा अनुमती विना सरकारी नम्बर प्लेट भएको सवारीसाधन सञ्चालन गर्न पाइदैन ।
तर, सरकारी कर्मचारीहरु सरकारद्धारा दिइएको सवारी विदाको दिन समेत विनासिति आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् । भदौ महिनामा ९ वटा यस्ता सवारी फेला पारिएको सापकोटाले जानकारी दिए । यस्तै यो महिनामा सरकारी सवारी जाचपर्ताललाई तिब्रता दिइएको उनले बताए ।
फागुन महिनामा मात्र कुल ६८ वटा सरकारी नम्बर प्लेट भएका सवारीहरु सार्वजनिक विदामा दुरुपयोग भएका देखिएका छन् । उनका अनुसार यस्ता सवारीलाई दिनभर होल्ड गरेर राखिने र ५ बजेपछि छाड्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म यसरी दुरुपयोगमा आउने सरकारी सवारीका लागि कुनै पनि कडा कानुनको व्यवस्था नभएको उनले बताए ।
‘हामीले माथिल्लो निकायबाट चेकजाच गर्नुपर्छ भनेपछि मात्र कारवाही गर्ने हो, नत्र त्यस्तो सवारीको चेकजाचकै लागि कुनै टिम गठन भएको छैन,’ सापकोटाले मेरोअटोसँग भने ।
उनका अनुसार सरकारी नम्बर प्लेटका सवारी दुरुपयोग गर्नेको चेकजाच गर्ने हो भने सार्वजनिक विदामा चलाउने धेरै भेटिने गर्छन् । यसरी विदाको दिन व्यक्तिगत प्रयोजनका लागि सरकारी सवारी प्रयोग गर्न पाइँदैन ।


