काठमाडौं । बढ्दो क्रममा रहेको नेपाली स्कुटरको बजारमा नयाँ नयाँ स्कुटर भित्रने क्रम जारी नै छ । हालै मात्र अप्रिलिया एसआर १६० नेपाली बजारमा सार्वजनिक भएको छ ।
डेल्टा अटोकर्पले अप्रिलियाको सबैभन्दा पावरफुल स्कुटर एसआर १६० नेपाली बजारमा उपलब्ध गराएको हो । स्पोर्टी लुक भएको अप्रिलिया एसआर १६० ले यामाहा एरोक्ससँग प्रतिस्पर्धा गर्छ ।
दुबै कम्पनीले १६० सीसी सेग्मेन्टमा पावर र फिचरले भरिपुर्ण स्कुटर उपलब्ध गराएका छन् । यस्तोमा तपाईले प्रिमियम स्कुटर किन्ने योजना बनाउनु भएको छ भने यी दुई स्कुटर बीचको भिन्नता बुझ्न नछुटाउनु होला ।
इन्जिन
अप्रिलियाको एसआर स्कुटरमा १६० सीसी क्षमताको सिगंल सिलिन्डर, एफआई बीएस ६ इन्जिन छ । उक्त इन्जिनले ७१०० आरपीएममा अधिकतम ११.११ बीएच पावर र ५३०० आरपीएममा १३.४४ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, यामाहा एरोक्समा १५५ मा लिक्वीड कुल्ड, ४ स्ट्रोक एफआई ‘भिभिए’ इन्जिन छ । उक्त इन्जिनले १५ पीएस पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यो इन्जिन यामाहा आर १५ बाट लिइएको इन्जिन हो ।
पावरको तुलना गर्दा यामाहा एरोक्स १५५ को पावर धेरै छ भने टर्क लगभग समान जस्तै छ । तर, पावर टू वेट रेसियोमा अप्रिलियाको तौल कम भएका कारण अप्रिलिया एसआर १६० पावरफुल फिल हुन्छ ।
सस्पेन्सन/ह्वील
अप्रिलिया एसआर १६० को फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा हाड्रोलिक सक एव्जर्भर सहितको ५ स्टेप प्रि एड्जष्टेवल सस्पेन्सन छ । यसमा १४ इन्चको अलोय ह्वीलसँगै फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा समेत उपलब्ध छ ।

यामाहा एरोक्समा अगाडि टेलिस्कोपिक सक एब्जर्बर र पछाडि ड्यूल स्प्रिङ सस्पेन्सन पाउन सकिन्छ । यसमा १४ इन्चको ह्वील र एबीएस सहितको ब्रेकिङ सिस्टम उपलब्ध छ ।
इन्धन/माइलेज
यामाहा एरोक्समा ५.५ लिटरको इन्धन क्षमता छ । यसले ४८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दावी छ ।
त्यसैगरी, अप्रिलिया एसआर १६० मा ६ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ । यसले ३५ किलोमिटर दिने कम्पनीको दावी रहेको छ ।
अन्य फिचर
अप्रिलिया एसआर १६० मा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प जस्ता फिचर छन् ।
त्यस्तै एरोक्समा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प, साइड स्ट्याण्ड सेन्सर जस्ता फिचर उपलब्ध छन् ।
मूल्य
अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी डेल्टा अटोकर्पले ३ लाख लाख ९५ हजार ४०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले ४ लाख ७४ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

