बीवाइडीले पहिलोपटक हवाईजहाज मार्फत गर्‍यो ब्याट्री निर्यात

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले पहिलो पटक हवाईजहाजबाट ब्याट्री ओसारपसार (ट्रान्सपोर्ट) गरेको छ ।

बीवाइडीको ब्याट्री उत्पादक कम्पनी फिनड्रिम्सले गत शुक्रबार हवाई माध्यमबाट ठूलो परिमाणमा लिथियम आयोन ब्याट्री जर्मनी निर्यात गरेको हो । कम्पनीले चीनको हुवे प्रान्तबाट जर्मनीको फ्यांकफर्ट ब्याट्री प्याक निर्यात गरेको हो ।

हवाईजहाज मार्फत विद्युतीय सवारीको ब्याट्री निर्यात भएको यो सम्भवतः पहिलोपटक भएको जनाइएको छ । यसअघि ईभीमा प्रयोग हुने लिथियम आयोन ब्याट्रीलाई अत्याधिक प्रज्वलनशील वस्तु मानिएकाले जहाजबाट ओसारपसार हुँदैन्थ्यो । लिथियम आयोनलाई क्लास ९ डेन्जरस गुड्समा राखिएको छ ।

चिनियाँ कार्गो कम्पनी एसएफ एक्प्रेसको जहाजले ३०० किलोको ब्याट्रीप्याकहरूलाई कार्गो गरेको थियो । अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड अनुसार यदि लिथियम आयोनको ३५ केजीभन्दा ठूलो प्याक भएमा सम्बन्धित देशको नागरिक उड्डयन प्राधिकरणबाट ए ९९ स्पेशल अप्रुभल लिनु पर्छ । यसमा लिथिएम ब्याट्री सेफ्टी टेस्ट, प्याकेजिङ सेफ्टी टेस्ट र इमेर्जेन्सी ड्रिल आदि गरिन्छ ।

उक्त टेस्टका लागि फिनड्रिम्सले ब्याट्रीलाई फुलचार्ज गरेर हिटिङ गरेको थियो । जसले ब्याट्री प्याकको सेफ्टीलाई प्रमाणित गर्दै एक्सट्रीम कन्डिसनमा समेत सेफ्टीको ग्यारेन्टी गरेको थियो । त्यस्तै, कम्पनीले ब्याट्री प्याकलाई एभिएसन स्पेशिफिक एक्सप्लाेजन प्रूफ केस समेत बनाएको थियो ।

फिनड्रिम्सले उक्त ब्याट्रीप्याक कुन ब्राण्डको लागि हो आधिकारिक जानकारी नदिए पनि जर्मनीमा रहेको टेस्ला गिगाफ्याक्ट्रीका लागि रहेको आकलन गरिएको छ । टेस्लाले उक्त प्लान्टमा बीवाइडीको ब्याट्री प्रयोग गरी मोडल वाई बनाउने अनुमान गरिएको छ ।


Back_to_top