काठमाडौं । यामाहाको चर्चित आर सिरिज अन्तर्गत भारतमा निर्माण भएको नयाँ आर २ मोटरसाइकल अर्को साता सार्वजनिक हुने भएको छ ।
कम्पनीले नयाँ यामाहा आर २ अगस्ट २७ तारिकमा लन्च गर्ने जनाएको हो । हाल भारतमा नयाँ आर २ को प्रि बुकिङसमेत खुलिसकेको छ । ग्राहकले १० हजार भारतीय रुपैयाँ तिरेर मोटरसाइकल बुक गर्न सक्नेछन् ।
कम्पनीले भने मोटरसाइकलको नाम आर २ हो भनेर अहिलेसम्म आधिकारिक रूपमा घोषणा गरेको छैन । तर, सार्वजनिक भएका टिजर भिडियोहरूमा हेर्दा नयाँ मोटरसाइकल आर २ नै रहेको भारतीय मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यामाहाको बुकिङ पेजमा २७ अगस्ट २०२६ लाई प्रस्तावित लन्च मिति उल्लेख गरिएको छ । लन्चअघि प्रि बुकिङ गर्ने ग्राहकले प्राथमिकताका आधारमा लन्च भएको केही समयपछि डेलिभरी पाउनेछन् ।
यामाहाले अहिलेसम्म आर २ को प्राविधिक विवरण सार्वजनिक गरेको छैन । यद्यपि, विभिन्न रिपोर्टअनुसार यसमा २०० देखि २२० सीसीको लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन प्रयोग हुन सक्ने अनुमान गरिएको छ । यसको अधिकतम पावर करिब २५ पीएस हुने अपेक्षा गरिएको छ ।
यामाहाले आफ्नो भेरियबल भल्ब एक्चुएसन (भीभीए) इन्जिन प्रविधि पनि आर २ मा प्रयोग गर्ने छ । भीभीएले उच्च आरपीएममा राम्रो प्रदर्शनसँगै दैनिक प्रयोगमा आवश्यक टर्क र राइडिङ सहजता कायम गर्न सहयोग गर्नेछ ।
आर १५ र आर थ्री मोटरसाइकलको मिड स्पेक मोडलका रूपमा उपलब्ध हुने आर २ यामाहाको नयाँ प्लेटफर्ममा निर्माण भएको मोडल हो । यसका केही आधारभूत आर्किटेक्चर तथा प्रविधि आर १५ भीफोरबाट साझा गरिएको छ । यसमा डेल्टाबक्स फ्रेम, यूएसडी फ्रन्ट फोर्क, रियर मोनोशक, डुअल च्यानल एबीएस, जस्ता फिचर समावेश हुन सक्ने अनुमान गरिएको छ ।
आर १५ भीफोरमा भएकाभन्दा थप प्रिमियम इलेक्ट्रोनिक फिचर आर २ मा उपलब्ध हुन सक्ने चर्चा छ । जसमा ट्रयाक्सन कन्ट्रोल, क्विकशिफ्टर, असिस्ट एण्ड स्लिपर क्लच, फुल कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल र यामाहा वाइ कनेक्ट जस्ता प्रविधि हुनेछन् ।


