इलेक्ट्रिक डर्ट बाइक सेगवेको दुई मोडल नेपाल भित्रियो, यस्तो छ मूल्य र फिचर

काठमाडौं । चिनियाँ सेल्फ ब्यालेन्स टू ह्वील निर्माता कम्पनी सेगवे इंकको उत्पादन नेपाली बजारमा भित्रिएको छ । कम्पनीको दुई मोडलका इलेक्ट्रीक डर्ट बाइक नेपाल भित्र्याएको हो ।

सेगवेको नेपालका लागि आधिकारिक वितरकको रुपमा ओलिज स्टोर रहेको छ । कम्पनीले अनलाइन मार्फत यसको विक्री गर्ने जनाएको छ । कम्पनीले एक्स १६० र एक्स २६० गरी दुई मोडलका इलेक्ट्रिक डर्ट बाइक नेपाल भित्र्याएको हो ।

ओलिज स्टोरका अनुसार यो इ–बाइक २०२१ को मध्य तिरबाट विक्री सुरु हुनेछ । इलेक्ट्रिक डर्टबाइक एक्स १६० को मूल्य ४ लाख २० हजार र एक्स २६० को मूल्य ६ लाख हुने अनुमान गरिएको छ ।

एक्स १६० को लम्बाइ १८२० एमएम, चौडाइ ७४० एमएम र उचाइ १०२० एमएम रहेको छ । त्यस्तै एक्स २६० को लम्बाइ १८८५ एमएम, चौडाइ ७८० एमएम र उचाइ १०५० एमएम रहेको छ । एक्स १६० को कुल तौल ४८ केजी र एक्स २६० को तौल ५५ केजी रहेको छ ।

एक्स १६० मा ३०० वाट र एक्स २६० मा ७०० वाट मोटर रहेको छ । यी दुवै बाइकमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ । एक्स १६० ले ६५ किलोमिटर रेन्ज दिन्छ भने एक्स २६० ले १२० किलोमिटर रेन्ज दिन्छ । यी दुवै बाइक ४ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

एक्स १६० को मोटरले २ किलोवाट पावर र २२० एनएम टर्क जेनेरेट गर्छ यसको टप स्पीड ३१ किलोमिटर प्रतिघन्टा रहेको छ भने एक्स २६० ले ३ किलोवाट पावर र २५० एनएम टर्क जेनेरेट गर्छ यसको टप स्पीड ४६ किलोमिटर प्रतिघन्टा रहेको छ ।

एक्स १६० को फ्रन्टमा सिंगल सोल्डर इन्र्भरटेड फर्क र एक्स २६० मा डबल सोल्डर इन्र्भरटेड फर्क दिइएको छ । दुवैै बाइकको रियरमा मल्टिलिङक हाइड्रोलिक स्प्रीङ सस्पेन्सन रहेको छ । एक्स १६० मा १७ इन्च अलाय ह्वील र एक्स २६० मा १९ इन्च अलाय ह्वील दिइएको छ । यी दुवै ह्वीलमा डिस्क ब्रेक रहेको छ ।


Back_to_top