एक किसानले दूध बेच्नको लागि नेपाली ४८ करोड रुपैयाँ खर्च गरेर हेलिकप्टर किनेका छन् । भारतको ग्रामीण क्षेत्र महाराष्ट्रको भिंवडीका एक किसान जनार्दन भोइरले ३० करोड भारतीय रूपैयाँ अर्थात ४८ करोड नेपाली रुपैयाँ खर्च गरेर हेलिकप्टर किनेका हुन् ।
बिजनेस टुडेकाे रिपोर्टअनुसार दूध व्यवसायी जनार्दनले आफ्नो व्यवसायको सिलसिलामा देशैभरी जानुपर्ने भएकोले समयको बचतको लागि हेलिकप्टर किनेका बताएका छन्।

आइतबार ट्रायलको लागि हेलिकप्टर उनको गाउँमा ल्याइएको थियो । भोइरले हेलिकप्टरमा राखेर गाउँ पञ्चायतमा नयाँ निर्वाचित सदस्यहरुलाई घुमाएका थिए । दूध उत्पादक किसान हुनुका साथै उनी रियलस्टेट व्यवसायीसमेत रहेका बताइएकाे छ । कामको सिलसिलामा उनी देशको पूर्वदेखि पश्चिमसम्म जानुपर्छ ।
उनी जानुपर्ने कैयौं क्षेत्रहरुमा हवाइ यात्राको सुविधा नभएका कारण उनको समय बर्बाद भइरहेको थियो । त्यसपछि एक मित्रको सल्लाहअनुसार उनले हेलिकप्टर किनेका हुन् । जनार्दनका अनुसार दूध र दूधजन्य अन्य पदार्थको व्यवसायको सिलसिलामा उनी पञ्जाब, गुजरात, राजस्थान र पूर्वी राज्यहरुमा जानुपर्छ ।
जनार्दनले आफ्नो घरनजिकै खेतमा हेलिप्याड बनाएका छन् । यहाँ पाइलटको निवास, प्राविधिक कक्ष बनाउने तयारी भइरहेको छ । जनार्दनका अनुसार १५ मार्चमा उनले हेलिकप्टर पाउनेछन् । उनले आफूसँग भएको अढाइ एकड जमिनमा वरिपरि घेरेर हेलिप्याड र अन्य संरचना बनाउनेछन् ।


