किन फ्लप भयो ‘सिट्रोन ईसी-३’ ? आयात निरन्तर घट्दै

काठमाडौं । फ्रेन्च अटोमोबाइल ब्रान्ड सिट्रोनको विद्युतीय ह्याचब्याक ईसी-३ नेपालमा बिक्री सुरु भएको करिब चार वर्ष पुगेको छ । सन् २०२३ मा नेपाली बजारमा प्रवेश गरेको इलेक्ट्रीक सी-३ को आयात पछिल्ला वर्षमा निरन्तर घट्दै गएको देखिन्छ ।

 

भारतमा उत्पादन भएको सिट्रोन ईसी-३ नेपालमा सांग्रिला मोटर्सले बिक्री वितरण गर्दै आएको छ । भन्सार आयात तथ्यांकअनुसार सन् २०२३ मा ११४ युनिट ईसी-३ नेपाल आएको थियो ।

सन् २०२४ मा यसको आयात बढेर १४५ युनिट पुगेको थियो । तर, सन् २०२५ मा एकैपटक घटेर ५७ युनिटमा झरेको थियो । सन् २०२६ को अक्टोबर १५ सम्ममा थप कमजोर बन्दै केबल १५ युनिट मात्रै आयात भएको देखिन्छ ।

समग्रमा साँग्रिला मोटर्सले इसी-३ करिब ४ वर्षको अवधिमा ३३१ युनिट आयात गरेको देखिन्छ । बढ्दो ईभी बजारमा राम्रो उत्पादन, उपयुक्त साइज र ३५ लाख रुपैयाँ आसपासको मूल्यमा किन्न पाइने यो सीयूभीको बजार रणनीति राम्रो देखिएन । त्यसैले सुरुवाती दिनको उत्साहलाई यसले नेपालमा कायम राख्न सकेन ।

यस्तो छ सिट्रोन ईसी-३

सिट्रोन ईसी-३ मा २९.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ४२.५ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर छ । उक्त मोटरले ५७ पीएस पावर र १४३ एनएम टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार यसले एकपटक फुल चार्ज गर्दा एमआईडीसी परीक्षणमा ३२० किलोमिटरसम्म रेन्ज दिन्छ । डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न ५७ मिनेट लाग्छ ।

साइजमा पनि यो गाडी राम्रो देखिन्छ । यसको लम्बाइ ३९८१ एमएम, चौडाइ १७३३ एमएम र ह्वीलबेस २५४० एमएम लामो छ । यसमा १७० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स र ३१५ लिटरको बुट स्पेस पाउन सकिन्छ ।

नेपाल बिक्री हुँदै आएको इसी-३ मा १५ इन्चको अलोय ह्विल, रियर भ्यु क्यामेरा, रियर वाइपर तथा डिफ्रोस्टर, इलेक्ट्रिक ओआरभीएम र लेदर ¥याप्ड स्टेयरिङ ह्विल पाउन सकिन्छ ।

मासिक किस्ता कति पर्छ?

ईसी-३ को टप भेरियन्ट साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ छ । यसको ४० प्रतिशत अर्थात् १४ लाख ३९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट गर्दा बाँकी २१ लाख ५९ हजार ४०० रुपैयाँ बैंकबाट कर्जा लिन सकिन्छ ।

वार्षिक ५ देखि ५.५ प्रतिशत ब्याजदर मानेर ७ वर्षको कर्जा लिँदा मासिक किस्ता ३० हजार ५२१ देखि ३१ हजार ३१ रुपैयाँसम्म पर्छ ।


Back_to_top