काठमाडौं । नेपालको सडकमा निकै बाक्लो रूपमा भेटिने ह्याचब्याक कार हुन्डाई ग्राण्ड आई १० अहिलेसम्म कति युनिट नेपाल आयो होला ? यो प्रश्न धेरैको मनमा आउने गर्छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा बिक्री वितरण गर्दै आएको हुन्डाई ग्राण्ड आई १० निकै सफल मोडलमा पर्छ । ह्याचब्याक कार किन्छु भन्नेको पाहिलो रोजाइ बन्दै आएको ग्राण्ड आई १० को विगत लामो छ ।
सुरूमा उपलब्ध आई १०, त्यसपछि आएको ग्राण्ड आई १० र अहिले बिक्री हुँदै आएको ग्राण्ड आई १० नियोस सबैले सफलता पाए । पछिल्ला दिनमा बढ्दो ईभीको बिक्रीका कारण युनिटमा कम भए पनि पेट्रोलबाट चल्ने ह्याचब्याक कारमा ग्राण्ड आई १० नियोस नै सबैभन्दा अगाडि देखिएको छ ।
हामीले सन् २०१७ देखि २०२६ को मार्च १५ तारिखसम्म आयात भएको तथ्यांकलाई केलाउँदा विगत ९ वर्षभन्दा बढीको समयमा ५ हजार ५११ युनिट आयात भएको देखिन्छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले एक वर्षमै सबैभन्दा युनिट २०१८ मा आयात गरेको थियो ।
कम्पनीले २०१८ मा १ हजार ३० युनिट ग्राण्ड आई १० आयात गरेको देखिन्छ । त्यसको अघिल्लो वर्ष सन् २०१७ मा ८४७ युनिट ग्राण्ड आई १० आयात भएको थियो ।
सन् २०१९ मा ५५३ युनिट आई १० आयात हुँदा सन् २०२० मा ६४४ युनिट आयात भएको देखिन्छ । निकै लोकप्रिय मोडल ग्राण्ड आई १० सन् २०२१ मा १ हजार १४ युनिट आयात भएको थियो ।

कोभिड १९ को संक्रमण कम हुँदै जाँदा नेपालमा ईभीको बिक्रीले उचाइ छोयो । त्योसँगै आई १० को बिक्रीमा गिरावट आएको देखिन्छ । कम्पनीले सन् २०२२ मा ३२६ युनिट, २०२३ मा ४०१ युनिट र २०२४ मा ३७५ युनिट ग्राण्ड आई १० नेपाल ल्याएको थियो ।
सन् २०२५ मा २७७ युनिट मात्रै आयात भएको ग्राण्ड आई १० सन् २०२६ को मार्च १५ तारिखसम्ममा ४४ युनिट आयात भएको छ । संख्यात्मक बिक्री कम भए पनि पेट्रोल ह्याचब्याक कारमा अहिले पनि ग्राण्ड आई १० सबैभन्दा अगाडि देखिन्छ ।

ग्राण्ड आई १० को बिक्रीको पछाडि कम्पनीले दिँदै आएको सर्भिसको सबैभन्दा ठूलो भूमिका देखिन्छ । साथै, रिकण्डिसन बजारमा निकै राम्रो मूल्य पाइने भएको कारण पनि उपभोक्ताले आई १० मा ढुक्कसँग लगानी गरेको पाइन्छ ।

