काठमाडौं । नयाँ वर्ष २०८० को अवसर पारेर पोकर रन को १३ औं सस्करण आयोजना हुने भएको छ । १३ औं पोकर रनको मूख्य प्रायोजकमा अल्फा अटोवाइले विक्री गर्ने रोयल इनफिल्ड मोटरसाइकल रहेको छ ।
अल्फा अटोमोवाइल र स्याफ्रेड समीटबीच एमओयू साइन भएको छ । १३ औं पोकर रन अल्फा अटोमोवाइलको मूख्य प्रायोजनमा स्याफ्रेड समिटले आयोजना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
क्लासीक मोटरसाइकल प्रेमिहरुले नेपाली नयाँ वर्षलाई स्वागत गर्दै महान उत्सवको रुपमा मनाउन उक्त पोकर रन नेपाल कार्यक्रम आयोजना गर्दै आएका छन् ।
पोकर रन काठमाडौंदेखि पोखरासम्मको हुनेछ भने यो राइडमा रोयल इनफिल्डका मोटरसाइकल चालक मात्र सहभागी हुन पाउने छन् ।
यस राइडको मूख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले तास संग सम्बन्धित एक किसिमको खेललाई बुझाउछ। पोकर खेलमा पाँच पत्ति तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एक–एक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ति तास मिलाउदा जसको दाउ सबै भन्दा ठुलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ र उसलाई विभिन्न कम्पनि द्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ ।
यस पटकको पोकर रन नेपाल कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त अधिराज्य क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स लगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकल यात्री सम्मिलित २५० को हाराहारीमा सहभागीहरु हुने आयोजकले जनाएको छ ।

