बोलिभियामा पैसा बोकेको जहाज दुर्घटना हुँदा १५ जनाको मृत्यु

काठमाडौं । बोलिभियाको राजधानी ला पाज नजिकै कार्गो विमान दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार साँझ ६ः२० बजे हक्र्युलस सी १३० विमान एल आल्टो विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको हो ।

रनवेबाट चिप्लिएको विमान सडक हुँदै खेतमा धसिएपछि आगो लागेको थियो । दुर्घटनामा सडकमा गुडिरहेका करिब एक दर्जन सवारीसाधन क्षतिग्रस्त भएका छन् ।

मृतकहरू विमानभित्रका यात्रु वा राजमार्गका सवारीमा सवार व्यक्ति हुन् भन्ने खुलेको छैन । बोलिभियन वायुसेनाका जनरल सर्जियो लोरा अनुसार विमानमा ६ जना चालक दलका सदस्य थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशिएटेड प्रेस (एपी)ले जनाए अनुसार उक्त कार्गो विमानले विदेशमा छापिएका नयाँ बोलिभियन मुद्रा बोकेको थियो । यद्यपि, कति रकम थियो भने एकीन छैन् ।

रक्षा मन्त्री सालिनासले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए। दुर्घटनापछि उक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ ।


Back_to_top